यसरी बच्चा बोकेकी महिलाले गराइन् आत्मघाती विस्फोट

 एजेन्सी,आमाको काखमा रहेको बच्चा यति सुरक्षित मानिन्छ कि आमाले आफ्नो प्राणको परवाह नगरी आफ्नो बच्चालाई बचाउन खोज्छिन् । तर इराकमा बच्चा बोकेकी एक महिलाले आत्मघाती विस्फोट गराएर आफू, आफ्नो बच्चासहित दुई सुरक्षाकर्मीको ज्यान लिएको घटना प्रकाशमा आएको छ ।

स्थानीय एक टेलिभिजन च्यानलले प्रशारण गरेको दृष्यमा एउटी महिलाले एक हातमा बच्चा र अर्को हातमा विस्फोटक पदार्थ भरिएको ब्याग बोकेको दृष्य देखाइएको छ । मोसुलमा सुरक्षा कारवाहीपछि स्थानीयबासीहरु सुरक्षित स्थानतर्फ जाँदै गरेको भिडियो दृष्य आफ्नो क्यामेरामा कैद गरिरहेका क्यामेराम्यानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती महिलाले ब्याग बोकेकै हातमा रिमोट कन्ट्रोल पनि बोकेकी थिइन् ।

उनले बम विस्फोटका लागि ‘स्वीच अन’ गरेको केही बेरमै विस्फोट भएको थियो । संयोगवस् ती क्यामेराम्यान भएको स्थान कटेर ती महिला केही पर पुगेपछि विस्फोट भएको बताइएको छ ।

सुरक्षाकर्मीको छेउबाट गइरहेकी ती महिलाले सुरक्षाकर्मीलाई लक्षित गरी विस्फोट गराएको बताइन्छ । हातमा काखे बच्चा देखेपछि सुरक्षाकर्मीले पनि ती महिलाप्रति शंका गरेका थिएनन् । तर तिनै महिलाले बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा दुई सुरक्षाकर्मीसहित ती महिला र उनको साथमा रहेको बच्चाको मृत्यु भएको बताइएको छ ।

पछिल्लो समय इस्लामिक स्टेटले आत्मघाती हमलाका लागि महिला रोज्ने गरेको छ । अझ बच्चासहित महिलालाई आत्मघाती विस्फोटमा परिचालन गरेको सम्भवतः यो नै पहिलो घटना भएको बताइएको छ ।