जर्मनीमा बस्ने बास नै पाएनन अमेरिकी राष्ट्रपति ट्रम्पले

हाेटेल नपाएपछि श्रीमती मेलानियासँग भए पूरै लज्जित

जी–२० शिखर सम्मेलनका लागि जर्मनीको ह्याम्वर्ग पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ने होटेल नै नपाएको समाचार बाहिर आएको छ । लाखौ प्रदर्शनकारीको विरोधका बाबजुत ह्याम्वर्ग पुगेका ट्रम्पले बस्ने होटेल नपाएपछि जर्मनीको ह्याम्वर्ग संसदको गेष्ट हाउसमा रात बिताउन बाध्य भएका छन् ।

ह्याम्वर्ग पुगेका अन्य देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु सबै ठूला बिलासी पाँच तारे होटेलमा बसेका थिए । तर, ट्रम्पका लागि भने ह्याम्वर्गमा कतै पनि बिलासी पाँच तारे होटेल नभेटिएको कुरालाई निकै चासोका साथ हेरिएको छ । विश्वमा सबैभन्दा उच्च प्रशासनिक प्रणाली र उच्च प्रविधि र चुस्त व्यवस्थापनसहितको सुरक्षा संयन्त्र भनेर दावी गरिएको अमेरिकाका राष्ट्र प्रमुखका लागि ह्याम्वर्गमा किन उचित आवास मिल्न सकेन भनेर विश्वभर चर्चा परिचर्चा भइरहेको छ । अरु देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुले जर्मनी जानुअघि नै होटेल बुक गरेका थिए । उनीहरु सबै ह्याम्वर्ग पुग्नु अघि नै बस्ने होटेलदेखि सबै कुराको सेड्यूल तयार बनाएका थिए । तर, यी सबै कुराबाट राष्ट्रपति ट्रम्प र उनको टिम कसरी चुक्यो भन्ने प्रश्न तेर्सिएको छ ।

ट्रम्प विश्वका निकै धनी राष्ट्र प्रमुख मानिन्छन् । उनी सुनै सुनले सजिएको आफ्नो निजी जहाज, हेलिकोप्टर, कारमा हिड्ने गर्दछन् । विशाल बगैचासहितको उनको भव्य महल पनि निकै सुविधा सम्पन्न छ । कुनै देशको भ्रमण जानु अघि उनका लागि उच्च प्रविधिसहितको ठूलो सुरक्षा संयन्त्र र व्यवस्थापन टिम खटिने चर्चा भइरहन्छ । तर, यसपटकको यो घटनाले ती सबै कुरा फिक्का सावित गरिदिएको छ । यसबाट उनी कति अव्यवस्थित र हल्का रहेछन् भन्ने कुरा पनि झल्किएको छ । यसबाट अमेरिकाकै बेइज्जत भएको टिप्पणी पनि मिडियामा सुरु भएको छ ।

गल्ती कसको ?

आफ्ना राष्ट्रपतिले जी २० शिखर सम्मेलनमा व्यवस्थित र सुविधा सम्पन्न होटेल नपाएपछि ह्वाइट हाउस प्रशासनले यसको छानविन समेत गरेको छ । प्रारम्भिक छानविनबाट ह्वाइटहाउस प्रशासनले यसको गल्ती अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई दोषी ठहर्याएको छ । आउने नयाँ राष्ट्रपतिका लागि यस्ता ठूला कार्यक्रम र भ्रमणको व्यवस्थापन र त्यसबारे आउने सबै कुरा अघिल्लो राष्ट्रपतिको प्रशासनले नै गर्ने चलन अमेरिकामा रहेको छ । ओबामा प्रशासनले यस वर्ष ह्याम्वर्गमा हुने जी २० शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिका लागि होटेल बुकिङ गर्नुपर्ने थियो । तर, ओबामा प्रशासनले आफ्नो देशका प्रतिनिधिका लागि कुनै होटेल बुकिङ नगरेको अहिले ह्वाइट हाउस प्रशासनले पत्ता लगाएको छ ।

ओबामा प्रशासनले कुनै होटेल बुकिङ नगरेको भए पनि वर्तमान ट्रम्प प्रशासनले किन होटेल बुकिङ गरेन त ? भन्ने प्रश्न पनि उठेको छ । राष्ट्रपति ट्रम्पका लागि ह्याम्वर्गमा बस्नेदेखि सम्मेलन अवधिभरको सेड्यूल र फर्कने समयतालिका उनको प्रशासनले तयार गरेको थियो वा थिएन भन्ने प्रश्न पनि उठेको छ । बस्ने होटेलको टुङ्गो नै नलागेर राष्ट्रपति ट्रम्प र उनको टिम कसरी ह्याम्वर्ग पुग्यो ? भन्ने प्रश्न पनि उठेको छ । राष्ट्रपति ट्रम्प आफ्नी श्रीमती मेलानिया ट्रम्पसँगै ह्याम्वर्ग पुगेका थिए । पोल्याण्ड हुँदै जर्मनी पुगेको ट्रम्पले पोल्याण्डमा एक कार्यक्रममा सहभागी भएर भाषण पनि गरेका थिए । जी २० शिखर सम्मेलनमा छलफल हुने विषयवस्तुबारेमा उनले पोल्याण्डमा दिएको भाषणले संसारभरका मिडियामा चर्चा पनि पाएको थियो ।

ह्याम्वर्ग पुगेपछि जब ट्रम्पका लागि बस्ने कुनै होटेल बुकिङ छैन भन्ने थाहा भयो, त्यसपछि उनी केहीबेर अक्क न बक्क परे । ट्रम्पले सुरुमा आफ्ना लागि ह्याम्वर्गकै सबैभन्दा महङ्गो होटेल ‘फोर सिजन’मा कोठा खोज्न लगाएका थिए । तर, त्यो होटेल साउदी अरबका राजा सलमानले पूरै एक्लै बुक गरिसकेको थाहा पाएपछि उनी निरास बनेका थिए । त्यसपछि उनले आफू ह्याम्वर्गमा नबस्ने बरु बर्लिनमा जाने बताए । १८० माइल टाढा रहेको बर्लिनबाट भोलिपल्ट हेलिकोप्टरमा आउने आफ्नो टिमलाई बताएका थिए । त्यसपछि उनले भनेको बर्लिनको होटेलमा पनि उनको टिमले बुझेको थियो । तर, त्यो होटेल पनि बुक भइसकेको जवाफ ट्रम्पलाई दिइएको थियो । ट्रम्पका लागि होटेल बुकिङ नभएको र उनी अलमलमा परेको समाचार स्थानीय मिडियामा सनसनी भएको थियो । त्यसपछि त्यसबारेमा पत्रकारले सोधेको एक प्रश्नमा जर्मनीका एक सुरक्षाकर्मीले ‘त्यसलाई स्वीकार गर्दै राष्ट्रपति ट्रम्पका लागि होटेलको खोजी भइरहेको’ जानकारी दिएका थिए ।
ह्याम्वर्गमा कतै पनि उच्चस्तरका सुविधा सम्पन्न होटेल नभेटिएपछि ट्रम्प र उनको टिमलाई आयोजक राष्ट्र जर्मनीले ह्याम्वर्ग संसदको गेष्ट हाउसमा पु¥याएको थियो ।

ट्रम्पले रात बिताएकाे ह्याम्वर्ग स‌ंसदकाे गेष्ट हाउस

कुन देशका राष्ट्रप्रमुख कहाँ बसे ?

ह्याम्वर्गमा दुई वटा सबैभन्दा महङ्गा र चर्चित ठूला होटल छन् । पार्क ह्याट र फोर सिजन नामक ती दुई वटा होटेल पहिल्यै बुकिङ भइसकेका थिए । पार्क ह्याटमा रसियन राष्ट्रपति भ्लादमिर पुटिनका लागि बुक गरिएको थियो । त्यस्तै अर्को चर्चित होटेल ‘फोर सिजन’मा साउदी अरबका शेख सलमानले पूरै होटेल एक्लै आफ्ना लागि बुक गराएका थिए ।

जी २० का अन्य सदस्य राष्ट्रका शीर्षस्थ नेताहरुले पनि ह्याम्वर्ग पुग्नु अघि नै ठूला बिलासी होटेल बुक गरेका थिए । जी २०का सदस्य देशका प्रमुखहरु सबै चर्चित पाँच तारे होटेलमै बसे । रसियन राष्ट्रपति भ्लादमिर पुटिन र उनको टिम अगाडि नै बुक गरिएको ‘पार्क ह्याट’मा बसेका थिए । त्यसैगरी बेलायतकी प्रधानमन्त्री थेरेसा मे र उनको टिम ‘ले मेरिदीन’ होटेलमा बसेका थिए । चीनका राष्ट्रपति सी जीनपिङ ‘ग्रान्ड ईलाइसी’मा बसेका थिए । भारतका प्रधानमन्त्र मन्त्री नरेन्द्र मोदी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउ, जर्मन चान्सलर एंजेला मार्केल ‘एटलान्टिक केम्पिन्स्की’ होटेलमा बसेका थिए । त्यसैगरी टर्कीका राष्ट्रपति ईर्दोगान समेत होटेल ‘सोफीटेल’ बसेका थिए । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र नर्वेका प्रधानमन्त्री ‘एर्ना सोल्बर्ग मोभेन्पिक’ होटेलमा बसेका थिए । साउदी अरबका शेख सलमान सबैभन्दा महङ्गो होटेल ‘फोर सिजन’ एक्लै बुक गरेर बसेका थिए ।

राष्ट्रपति ट्रम्पलाई संसद भवनको गेष्ट हाउसमा सुत्न बाध्य किन पारियो भनेर बिभिन्न देशका पत्रकारहरुले उनका प्रवक्तालाई प्रतिक्रिया लिन खोजेका थिए । तर, ट्रम्पका प्रवक्ताले यस विषयमा जवाफ दिनै इन्कार गरे । उनी पनि यसबाट निकै लज्जित देखिएका थिए ।
जी २० शिखर सम्मेलनका लागि संसारभरबाट ९ हजार भन्दा बढी नेता, कुटनीतिज्ञ र पत्रकारहरु पुगेका थिए । ती सबैले ह्याम्वर्गकै होटेलमा बास पाए । तर, ट्रम्पले भने त्यत्रो सहरमा आफ्ना लागि एउटा कोठा पनि पाउन सकेनन् । कतै होटेलमा बास नपाएपछि संसद भवनको गेष्ट हाउसमा श्रीमती मेलानियासँग रात बिताउनु परेपछि उनी निकै खिन्न देखिएका थिए । एकातिर होटेल नपाएर खिन्न भएका ट्रम्प भोलिपल्ट शिखर सम्मेलन सुरु भएपछि झनै निरास बने । जहाँ उनले आफ्नो सम्वोधन गरेपछि अरु वक्ताहरुबाट लगातार आलोचना पाइरहे ।