भारतका रक्षा विद भन्छन्– चीनसँग टक्कर लिनु भारतका लागि महँगो सावित हुनेछ

भारत र चीनबीच सीमा विवाद बढिरहेको समयमा भारतीय रक्षा विशेषज्ञले चीनसँग टक्कर लिनु भारतका लागि महँगो पर्ने चेतावनी दिएका छन् । भारतले सीमा क्षेत्रमा बनाएका चारवटा बंकर चिनियाँ सेनाले ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय सेनाले बंकर बनाएको भन्दै ती बंकर चिनियाँ सेनाले भत्काइदिएको हो ।

चिनियाँ सेनाले भारतलाई सन् १९६२ को युद्धबाट पाठ सिक्न चेतावनीसमेत दिएको छ । चिनियाँ सेनाको सोही चेतावनीको प्रतिक्रियास्वरुप भारतका रक्षा मन्त्री अरुण जेटलीले सन् १९६२ को भारत र सन् २०१७ को भारतमा धेरै फरक रहेको बताएका थिए ।

तर रक्षा मन्त्री जेटलीको सो भनाइप्रति भारतीय रक्षा विशेषज्ञले प्रतिक्रिया जनाउँदै चीनसँगको टक्कर भारतका लागि निकै महँगो पर्ने चेतावनी दिएका हुन् । रक्षा विशेषज्ञ राहुल बेदीले भनेका छन्, ‘मन्त्री जेटलीले के आधारमा यो कुरा भनिरहनु भएको छ, मैले बुझ्न सकेको छैन ।’

सैन्य शक्तिको मामलामा भारत चीनभन्दा निकै पछि रहेको बेदीले बताए । उनले भने, ‘चीनले आफ्नो क्षेत्रमा आधारभूत ढाँचा निकै बलियो बनाइसकेको छ, भारतको तुलनामा चीन आधारभूत ढाँचामा सय प्रतिशत बढी छ ।’

बेदीका अनुसार चीनलाई धम्की दिनका लागि भारतसँग कुनै बलियो आधार छैन । (एजेन्सी)