सीमावर्ती भारतीय बजारको रक्सौलको एक स्कुलमा गोली चल्यो

वीरगन्जसँग जोडिएको सीमावर्ती भारतीय बजार रक्सौलको एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्द गोली चलाउदा तीन जना गम्भिर घाइते भएका छन् । रक्सौलको लक्ष्मीपुर स्थित मन्सामाइ मन्दिर नजिक रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा आज बिहान १० बजे तिर मुखमा मास्क लगाएर प्रवेश गरेका अपरिचत चार जना बन्दुकधारीहरुले एके ४७ राइफलबाट अन्धाधुन्द गोली चलाउँदा विद्यालयको बसका चालक द्वय विक्रम कुमार र रामायण प्रसाद कुर्मी तथा सुरक्षा गार्ड ध्रुब साह गम्भिर घाइते भएका हुन् ।

घाइते तीनै जनाको रक्सौल स्थित डंकन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज स्थित नेशनल मेकिडल कलेजमा ल्याइएको छ ।  दुइ वटा मोटरसाइकलमा आएका चार जना बन्दुकधारीहरुले विद्यालय परिसरमा प्रवेश गरे लगत्तै अन्धाधुन्द गोली चलाएका थिए । कक्षा कोठामा विद्यार्थीहरु पढि रहेकै बेला बन्दुकधारीहरुले विद्यालय परिसरमा मात्र गोली चलाएका कारण विधार्थीहरु भने सकुशल रहेको रक्सौल प्रहरीले जनाएको छ ।

दुई वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले विद्यालयको मुल प्रवेशद्धारबाट भित्र प्रवेश गरे लगत्तै स्वःचालित राइफलबाट अन्धाधुन्द गोली चलाएको रक्सौल पुलिस थानाका डिएसपी राकेश कुमारले बताए । गोली चलाए लगत्तै बन्दुकधारीहरु फेरि मोटरसाइकलमै फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली चलाउनेहरुको परिचय खुल्न नसकेको र उनिहरुको खोजी भइरहेको डिएसपी राकेश कुमारले बताए ।

शहरका सबै नाका सिल गरेर चेकजाँच भइरहेको भारतीय प्रहरीले बताएको छ । रक्सौल र आसपासका क्षेत्रमा रंगदारी रकम असुल्दै आएको समुहले विद्यालय प्रशासनसंग केहि रकम मागेको र रकम नपाएपछि विद्यालय प्रशासनलाइ धम्क्याउनका लागि गोली चलाएको श्रोतले जनाएको छ । क्याम्ब्रिज पब्लिक स्कुलमा करिब पाँच हजार विधार्थीहरु अध्ययन गर्दछन् ।