भारतीय नागरिक नेपालमा मेयरकाे उम्मेदवार !

कपिलवस्तु जिल्लास्थित कृष्णनगर नगरपालिकाको मेयर पदमा भारतीय नागरिक रजतप्रताप शाहले मेयर पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको  खुलासा भएको छ । रजतप्रताप शाहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । शाहभवन बहादुरगञ्जमा बसोबास गर्दै आएका उनी यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा राजनीति गर्दै आएका थिए । उनको गतिविधिहरू शंकास्पद भएपछि संघीय समाजवादी फोरमले पार्टीबाट कारबाही गरेर निकाल्नुका साथै टिकट दिएको थिएन ।

कपिलवस्तु जिल्लामा थुप्रै सम्पत्ति जोडेका रजतप्रताप शाहका बुबा रघवेन्द्रप्रताप शाह सहायक मन्त्री समेत भइसकेका छन् । रजतप्रताप शाह भारतीय नागरिक भएको प्रमाणहरू दैनिक नेपाल डटकमले फेला परेको छ ।भारतीय नागरिक भएको प्रमाण र भारतीय पासपोर्ट लिएका विषयमा सोधिएको जिज्ञासामा उनले भने, ‘हो मैले भारतीय पासपोर्ट लिएको थिएँ । पढ्न गएको बेला लिएको हुँ । तर, पासपोर्ट र भारतीय राशनकार्ड सबै त्यागिदिएको छु ।’

तपाईले भारतीय पासपोर्ट र राशनकार्ड त्याग गरेको जानकारी नेपाल सरकारको कुनै निकायलाई थाहा छ भन्ने प्रश्नको जिज्ञासामा शाहले भने, ‘भनेको छैन । भारतीय पासपोर्ट त्यागेको बारे नेपाल सरकार वा निकायलाई जानकारी दिनुपर्छ भन्ने कुरा मलाई थाहा भएन । कपिलवस्तुको स्थानीय प्रशासनलाई जानकारी दिएको छैन ।’

‘कृष्णानगर नगरपालिकामा मेरो जित सुनिश्चित छ । मेरो जित सुनिश्चित भएको देखेर मेरा विरोधीहरूले भारतीय नागरिक भएको कुरा अगाडि ल्याएका हुन् । अहिले म नेपाली नागरिक भइसकेको छु । मसँग नेपाली नागरिकता छ ।’ – दैनिक नेपालसंगको कुराकानीका क्रममा शाहले भने । रतजप्रताप शाहले भारतको उत्तर प्रदेशको लखनउ आफ्नो जन्मस्थान भएको भारतीय पासपोर्टमा उल्लेख गरेका छन् । उनको भारतीय पासपोर्टको नं. जी०१०३५४७ रहेको छ । उनको जन्ममिति १९७२/०८/१४ उल्लेख छ । मेयरका उम्मेदवार रजतप्रताप शाहले भारतीय पासपोर्ट सन् २००६/१२/२० तारिखमा लिएको पासपोर्टमा उल्लेख छ ।

पासपोर्टमा रजतप्रताप शाहको ठेगाना ‘३२ मौसमबाग सचिवालय कलोनी सीतापुर रोड लखनउ’ उल्लेख छ । उनले पासपोर्टमा पिता रघवेन्द्र प्रताप शाह र पत्नी चन्द्रकान्ता शाहको नाम राखेका छन् । रजतप्रताप शाह भारतको शोहरातगढ़ विधानसभामा चुनाव पनि लड़ने तैयारी गरेका थिए । उनी इंडियन नेशनल कांग्रेसले टिकट दिने अन्तिम तयारी गरेको स्रोतको भनाइ छ । रजतप्रताप शाहको इंडियन भोटर कार्डमा पनि नाम रहेको छ ।

भारतीय नागरिक भएर कृष्णानगर नगरपालिकामा विभिन्न कार्यका साथै राजनीति गर्दै आएका रजतप्रतापका विषयमा किन निर्वाचन कार्यालय र स्थानीय प्रशासनले कारबाही चलाएन भन्ने ठूलो प्रश्न उब्जिएको छ ।

 

के भन्छन् कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल ?

यो घटनाका विषयमा मलाई थाहा थिएन । तपाईले सोधेपछि जानकारी पाएँ । अब म एक्सन लिन्छु । रजतप्रताप शाह नेपाली नागरिक हो कि भारतीय नागरिक हो त्यस विषयमा अनुसन्धान गर्छु । मातहतलाई निर्देशन दिन्छु । यदि रजतप्रताप शाह भारतीय नागरिक रहेको पुष्टि भयो भने नेपालको कानून अनुसार कारबाही हुन्छ । म यत्तिकै चुप लागेर बस्ने छैन । रजतप्रताप शाहसँग नेपाली नागरिकता भएरै नै उम्मेदवारी दिएको हुनुपर्छ । उसको भारतीय नं. को पासपोर्टका विषयमा आजदेखि अनुसन्धानको कारबाही प्रक्रिया सुरु हुन्छ ।