बिगत ४ वर्षदेखि खोरमा यी बालक….
जाजरकोट ,काठको खोरमा बाख्रा होइन बालकलाई थुन्ने गरेको खबर सुन्दा सबैलाई अनौठो लाग्न सक्छ । बारेकोट ४ जिरीका कालीबहादुर रावतले मानसिक सन्तुलन गुमाएका १२ वर्षीय छोरा भीमराजलाई ४ वर्षदेखि घर छेउमा रहेका खोरमा थुन्ने गरेका छन् । उनले रहरले भने छोरा भीमराजलाई बाख्राको खोरमा थुनेका होइनन् । उनी जता पायो त्यतै जाने र जे पायो त्यही गर्न थालेपछि खोरमा थुन्नुपरेको रावतले बताए । उनी दैनिक १२ घण्टा त्यही खोरमा हुन्छन् ।
चार वर्ष अघिदेखि बर्बराउने, कहिले रिसाउने तथा हाँस्ने त कहिले डराउने लगायतका व्यवहार प्रदर्शन गर्दै आएका उनले बोलचालसमेत गर्न छाडेका छन् । हाल छोरामा मान्छेमा हुनुपर्ने सामान्य संवदेनासमेत नभएको उनले बताए । ७/८ वर्षको हुँदा बोल्ने, सबै कुरा थाहा पाउने, कामकाज गर्ने, पढ्न जानेलगायत व्यवहार देखाउने छोराले एक्कासि मानसिक सन्तुलन गुमाएको उनको भनाइ छ ।
‘जे पायो त्यही गर्छ । खाना कहिले खान्छ त कहिले खाँदैन, सफा, फोहोर भन्ने पनि थाहा पाउँदैन । खोरमा थुनेरै खाना खुवाउनुपर्छ । खुला राखे कतै हाम फालेर मर्ला कि भन्ने डर लाग्छ,’ आमा तुलसाले भनिन् ।
९ वर्षको उमेर नपुग्दै अकस्मात् यस्तो समस्या आएको तुलसाले बताइन् । मानसिक सन्तुलन गुमाएका छोराको उपचारका लागि धामीझाँक्री, जडीबुटीदेखि काठमाडौंका अस्पताल चहार्न बाध्य भएको उनले बताइन् । ‘तर सन्चो भएन,’ उनले भनिन् । परिवारको जेठो सन्तान नै यस्तो भएपछि कालीबहादुर र तुलसा चिन्तित छन् ।
ऋण सापट गरेको पैसाका भरमा छोराको उपचारका लागि विभिन्न अस्पतालमा पुगे पनि ती अस्पतालले छोराको रोग नै पत्ता लगाउन नसकेको कालीबहादुरले बताए । घरजग्गा बिक्री गरेर छोराको उपचारमा २ लाखभन्दा बढी खर्च गरे पनि रोग पत्ता लगाउन नसक्दा चिन्तित बनेका छन् । ‘सन्चो होला कि भन्ने आसमा सम्पत्ति पनि सकियो,’ उनले भने, ‘यतिबेला गुजारा चलाउन कठिन भएको छ ।