यसरी दार्जिलिङमा अध्ययनरत नेपाली विद्यार्थीहरु पोशाकमै घर फर्किन थाले..
भारतको पश्चिम बंगाल राज्यको पहाडी भूभाग दार्जिलिङ अशान्त छ । शिक्षाका लागि निकै शान्त क्षेत्र मानिएको दार्जिलिङमा नेपाल, भूटान तथा भारतकै विभिन्न राज्यहरुबाट अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या उल्लेख्य छ । विगतमा कहिले विद्यालयमा असर नपरेको आन्दोलनले यसपटक असर पारेको छ । आन्दोलन चर्कन थालेपछि नेपाली विद्यार्थीहरु यतिवेला घर फर्किन थालेका छन् ।
एक साता अघिदेखि भारतको दार्जिलिङ्गमा जारी आन्दोलनका कारण पश्चिम बंगालका विभिन्न विद्यालय र कलेजहरुमा अध्ययनरत् नेपाली विद्यार्थीहरु धमाधम नेपाल फर्कन थालेका छन् । दार्जिलिङ्गमा आन्दोलन उग्र बनेपछि आफन्त कहाँ र होस्टलमा बसेर अध्ययन गरिरहेका नेपाली विद्यार्थी घर फर्किन थालेका हुन् ।
गोर्खाल्यान्डको माग गर्दै भारत पश्चिम बंगालको नेपाली भाषी बहुल दार्जिलिङमा आन्दोलनरत् गोर्खा जनमुक्ति मोर्चाले विभिन्न शिक्षण संस्थामा अध्ययनरत् विद्यार्थीलाई घर जान सहज वातावरण बनाइदिएको छ । बन्दका कारण दार्जिलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारी साधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म ल्याईदिएको छ । त्यहाँ पुगेका आफ्ना अभिभावक र आफन्तहरुसँग नेपालबाट अध्ययनका लागि गएका विद्यार्थीहरु अहिले पूर्वी नाका हुदँै घर फर्किएका छन् । उनीहरु विद्यालयको पोशाकमै घर फर्किन थालेका छन् ।
मोर्चाका सचिव विनय तामाङले दार्जिलिङमा अध्ययनरत् आफ्ना विद्यार्थीहरुलाई घर जान सहज वातावरण बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जुन २३ र २४ का लागि विद्यालयलाई विद्यार्थी बोक्न अनुमति दिइएको थियो । यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका थिए ।