जब त्रिभुवन विमानस्थलमा आगो दन्कियो

काठमाडौं,नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा शुक्रबार अपरान्ह साढे चार बजे धुँवाको मुस्लोसहित आगो दन्कियो । एक विमानमा आगो दन्किएपछि विमानस्थलमा कालोधुँवाको मुस्लो उड्यो ।

वारुणयन्त्रहरु आए । अग्निनियन्त्रक र सुरक्षाकर्मीहरु एकाएक विमानस्थलतर्फ दौडिए । विमानस्थलमा यात्रुहरु घाइते अवस्थामा छरिएका थिए । सुरक्षाकर्मी उद्दारतर्फ लाग्यो भने अग्निनियन्त्रकहरु विमानमा लागेको आगो निभाउन कस्सिए । त्रिभुवन विमानस्थलमा माइकिङ गर्दै १ सय ६८ यात्रु बोकेको ए ३३० जहाजका दुबै इञ्जिनले काम नगरेकोे जानकारी दिइए लगत्तै विमानमा आगो लागेको थियो ।

घटनास्थलमा ५ वटा एम्बुलेन्स जम्मा पारेर आगो निभाइयो । उद्धारका लागि हेलिकोप्टरसमेत आयो । तर यो सबै नाटक मात्र थियो ।दुर्घटनाको अपतकालिन अवस्थाको पूर्वाभ्यासका लागि शुक्रबार यस्तो नाटक मञ्चन गरिएको थियो ।

विमानस्थल आधा घण्ट बन्द गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार नै यस्तो पूर्वाभ्यास गरिएको थियो । जसलाई केही टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गरेका थिए ।