दिल्लीमा फेरि अर्को क्रूर बलात्कार,लगातार चार घन्टा बलात्कार

कारभित्र सामूहिक बलात्कार गरी बेहोस भएपछि अस्पतालनजिकै फालियो

भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले सामूहिक बलात्कार गरेका हुन् । पछिल्लो बलात्कार पाँच वर्षयताकै क्रूर र पाशविक भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसअघि सन् २०१२ को डिसेम्बरमा चिकित्साशास्त्रकी एक छात्राको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

चार घन्टा बलात्कार

युवतीलाई नयाँ दिल्लीबाट करिब ३० किलोमिटर टाढा रहेको सोहना सडक खन्डमा सोमबार राति ८ बजे हिँडिरहेका वेलामा एउटा कारमा आएका मानिसले अपहरण गरी कारभित्र कोचेका थिए । उनी छिमेकीको घरबाट आफ्नो निवासतर्फ जाने क्रममा अपहरणमा परेकी थिइन् । अपहरणलगत्तै केही मिटरको दुरीमा कार गुडाएर उनीमाथि पालैपालो बलात्कार गरेका थिए । आफूलाई चार घन्टासम्म कारभित्र राखेर तीनजनाले बलात्कार गरेको पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

बलात्कारपछि बेहोस भएकी उनलाई मंगलबार बिहान नोएडाको अस्पतालनजिक पु-याएर फालिएको अवस्थामा भेटिएकी थिइन् । राति दुई बजे अस्पताल परिसरमा बेहोस अवस्थामा ढलेको देखेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई तत्कालै अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।

अनुसन्धान सुरु

युवतीमाथि सामूहिक बलात्कारका विषयमा नोएडाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । बलात्कारमा संलग्न अपराधीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ, तर मंगलबार साँझसम्म कोही पक्राउ परेका छैनन् । ‘पछिल्लो क्रूर घटनाले पाँच वर्षअघि मेडिकल छात्रामाथि भएको बलात्कारलाई समेत बिर्साइदिएको छ, दोषीलाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनेछाैँ,’ नोएडाका प्रहरी प्रमुख लभकुमारले भने । प्रहरीले घटनास्थलको सिसी टेलिभिजनको फुटेज अध्ययन गरिरहेको छ । ‘हामीले पीडित महिलाको बयान लिइसकेका छौँ । बलात्कार भएको क्षेत्रमा सिसी क्यामेराका फुटेजहरूको संकलन कार्य भइरहेको छ ।’ उनले थपे ।

घटेन बलात्कारका घटना

यस वर्ष दिल्लीमा बलात्कारका घटनामा कमी आएको प्रहरीले बताइरहेका वेला युवतीमाथि सामूहिक बलात्कार भएको छ । भारतमा बारम्बार बलात्कारका घटना निकै हुने गर्दछन् । सरकारले जति कडा कानुन ल्याए पनि बलात्कारका घटनामा कमी नआएको अधिकारीहरूले बताएका छन् । अशिक्षा, चेतनाको कमी, असुरक्षालगायतका कारणले भारतका विभिन्न राज्यमा दिनहुँ बलात्कार हुने गरेका छन् ।

विरोधै विरोध

पछिल्लो बलात्कारपछि दिल्लीलगायत भारतभर विरोध भएको छ । बलात्कारीलाई तत्काल पक्राउ गरी मृत्युदण्डको सजाय दिनुपर्ने पीडितका परिवारले माग गरेका छन् । सरकारले प्रर्याप्त सुरक्षा दिन नसकेको सर्वसाधारणले गुनासो गरेका छन् । योजनाबद्ध तरिकाले बलात्कार गरेर अपराधी फरार हुँदा पनि सरकारले पक्राउ गर्न नसकेको भन्दै नोयडाका स्थानीयले सरकार र प्रहरी प्रशासनको विरोध गरेका छन् । त्यस्तै, महिलाअधिकारवादी समूह, मानवअधिकारवादी संगठनलगायतले पछिल्लो अपराधको निन्दा गरेका छन् ।

५ वर्षअघिको बलात्कारलाई बिर्साउने अपराध

सोमबारको घटनाले पाँच वर्षअघि दिल्लीमा भएको क्रूर बलात्कारलाई समेत बिर्साइदिएको छ । सन् २०१२ को डिसेम्बरमा ६ जनाको समूहले मेडिकलकी छात्रालाई बसभित्रै सामूहिक बलात्कार गरी निर्घात कुटेर हत्या गरेको थियो । बलात्कारमा संलग्न ६ जनामध्ये ४ जनालाई दिल्लीको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । बलात्कारमा संलग्न एकजनाले जेल भित्रै आत्महत्या गरेका थिए भने एकजनालाई किशोर अदालतमा पेस गरिएको थियो । उनीहरूमाथिको मृत्युदण्डको सजायँलाई दुई साताअघि सर्वोच्च अदालतले सदर गरेको थियो । सो घटनाको भारतलगायत दक्षिण एसियाभर नै विरोध भएको थियो । सोही घटनापछि भारत सरकारले बलात्कारीलाई मृत्युदण्ड दिन सक्ने कानुन बनाएको थियो ।नयाँ पत्रिकाबाट