ट्युनिसियाली युवतीको ‘कुमारी’ बन्नुको पीडा

अफ्रिकी मुलुक ट्युनिसियामा जब युवतीहरूको विवाह हुन्छ, तब उनीहरू कुमारी भएको आशा गरिन्छ । यही कारण यहाँ विवाहपूर्वको यौन सम्बन्धपछि पनि कुमारित्व प्राप्तिका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाएको छ । यास्मिन (परिवर्तित नाम) निकै आत्तिएकी छिन् । उनी आफ्ना नङ टोक्दै लगातार मोबाइल हेरिरहेकी छिन् । उनी भन्छिन्, म यसलाई धोका मान्छु, त्यसैले म निकै दुःखी छु । ट्युनिसियाको एक निजी क्लिनिकमा हामी चौथो तलामा छौँ । यहाँ महिलाका समस्यासित सम्बद्ध चिकित्सक छन् । गुलाफी रंगको प्रतीक्षा कक्षमा महिलाहरू बडो धैर्यपूर्वक प्रतीक्षा गरिरहेका देखिन्छन् ।

यास्मिनले मलाई बताइन् कि उनले नक्कली ‘हाइमन’ लगाएकी छिन् । उनको दुई महिनापछि बिहे हुनेवाला छ । एउटा सामान्य मेडिकल प्रक्रियापछि महिलाको गोप्य अंगमा झिल्लीका रूपमा रहने हाइमन लगाउने गरिन्छ । यहाँ यसरी हाइमन लगाउनुलाई पुनः कुमारित्व फिर्ता पाउनुका रूपमा लिइन्छ । समाजशास्त्री सामिया एलुमी भन्छन्— हामी आधुनिक समाजमा बस्ने दाबी गर्छौं । तर, यस्तो आधुनिकताले महिलाको यौन सम्बन्धसित जोडिएको स्वतन्त्रता देख्दैन ।

२८ वर्षीया यास्मिनलाई आफू कुमारी नहुनुको डरले सताइरहन्छ । उनलाई भविष्यमा आफू कुमारी नभएको यथार्थ थाहा हुन पनि सक्छ । पत्नी कुमारी नभएको शंका लाग्नासाथ पुरुषले तलाक दिएका समाचार यहाँ बारम्बार आइरहन्छन् ।

यास्मिनको जन्म एक उदार परिवारमा भयो । उनी कैयौँ वर्षसम्म विदेशमै रहिन् । उनलाई अहिले आफ्नो अतीतको यौन सम्बन्धबारे आफ्ना हुनेवाला पतिलाई कुनै शंका भएमा हुन लागिसकेको बिहे टुट्नेछ । उनी भन्छिन्— मेरो एक पुरुषसँग अफेयर थियो । त्यतिखेर मैले हाम्रो समाजमा कुमारित्वलाई लिएर यति धेरै दबाब झेल्नुपर्छ र यसको यति गम्भीर नतिजा पनि निस्किन सक्छ भन्ने कल्पना पनि गरेकी थिइनँ । त्यसैले अहिले म निकै डराइरहेकी छु । यदि मैले आफ्नो विगतको अफेयरबारे बताएँ भने निश्चित छ मेरो विवाह टुट्नेछ । यास्मिनले नक्कली हाइमन लगाउन झन्डै ४ सय डलर खर्च गरेकी छिन् ।

यास्मिनलाई पुनः ‘कुमारी’ बनाउने प्रक्रिया स्त्रीरोग विशेषज्ञले पूरा गर्छन् । डा. रसिदले एक सातामा औसत यस प्रकारका दुई सर्जरी गर्ने गरेका छन् । डा. रसिदको भनाइ छ— पुनः हाइमन लगाउन आउनेमध्ये ९९ प्रतिशत युवती आफ्नो परिवार र नातेदारको इज्जत जाने चिन्ताले डराएका हुन्छन् । यास्मिन जस्ता अधिकांश युवती कम उमेरकै हुने गर्छन्, उनीहरू आफू कुमारी होइन भन्ने लुकाउन चाहन्छन् । यद्यपि हाइमन यौन सम्बन्धका कारण मात्र टुट्ने गर्दैन । अन्य विभिन्न कारणबाट पनि यो टुट्ने गर्छ । तैपनि, महिलालाई गलत तरिकाबाट ‘अपराधी’ ठहराउने गरिन्छ र उनीहरूमाथि विवाहपूर्व यौन सम्बन्ध राखेको आरोप लगाउने गरिन्छ ।

उत्तरी अफ्रिकामा ट्युनिसिया महिलालाई अधिकार दिने राष्ट्रका रूपमा चिनिन्छ । तर, धर्म र परम्पराका कारण यहाँका महिला विवाहअघि ‘कुमारी’ नै रहन बाध्य छन् । ट्युनिसियाको तलाक नियमअनुसार यदि पतिलाई उसकी पत्नी कुमारी छैनन् भन्ने थाहा भयो भने उसले तलाक दिन सक्छ । समाजशास्त्री सामिया एलुमी भन्छन्— ट्युनिसियाली समाज एक खुला समाज हो । तर, हामी मानिसहरू भने पाखण्डी बनिरहेका छौँ । यहाँ सामाजिक रुढिवाद प्रबल रूपमा फैलिएको छ । आधुनिक समाजमा यसलाई ठीक मान्न सकिन्न । महिलाको कामुकता र उनीहरूको स्वतन्त्रताको विषयमा यहाँ अझै पनि आधुनिकता कोसौँ पर छ ।

एक सरकारी युनिभर्सिटीमा मेरो भेट इसेनसित भयो । २९ वर्षीय इसेनको विवाह पछिल्लो वर्ष भएको थियो । उनी र उनका साथीहरू कुमारित्वको विषयमा कति सचेत छन् वा उनीहरू यसलाई कति महत्व दिन्छन् भनेर प्रश्न गर्दा उनले यो निकै महत्वको विषय भएको बताए । उनले भने— यदि मलाई बिहेपछि उनी कुमारी होइनन् भन्ने थाहा भयो भने कहिल्यै भरोसा गर्न सक्ने थिइनँ । म यसलाई धोका मान्छु । म नक्कली हाइमनमाथि भरोसा गर्न सक्दिनँ । इसेनको छेउमै बसेका एक विद्यार्थीले भने— ट्युनिसियाली परम्परामा महिलाले प्रताडना झेल्नुपर्छ । उनका लागि यो एउटा पाखण्डसिवाय केही होइन । यदि पुरुष विवाहपूर्व यौन सम्बन्ध राख्न सक्छ भने महिलालाई मात्र किन कठघरामा उभ्याइन्छ ?

(हसैनी बिबिसीका ट्युनिसियास्थित संवाददाता हुन्)
बिबिसी हिन्दी डट कमबाट