सुडान घोटालामा दोषी पूर्वप्रहरी महानिरीक्षक राणा र गुरुङ जेल चलान
काठमाडौं, सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई बुधबार जेल चलान गरिएको छ ।
पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
त्यसैगरी, सोही कान्डमा दोषी ठहर भएका पूर्वएआइजी दीपक सिंह थाङ्देन र पूर्वडीआइजी दीपक श्रेष्ठलाई पनि जेल चलान गरिएको छ । उनीहरुलाई पनि डिल्लीबजार जेल पठाइएको हो ।निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको इलजासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।
सर्वोच्चको आदेशसमेत लामो समय कार्यान्वयन हुन नसकेकोमा उनीहरु सबैले मंगलबार अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको शान्ति मिसनमा खटिने प्रहरीहरुको ‘लजिस्टिक’ खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि मुद्दा दायर गरेको थियो । सोही भ्रष्टाचारकान्डमा दोषी ठहर भएका पूर्वप्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलगायतका व्यक्तिहरु भने अहिले पनि जेल चलान भएका छैनन् ।