आमाको मृत्युपछि बिचल्ली परेका पीडित परिवारलाई रकम हस्तान्तरण

दाङ,सुत्केरी आमाको मृत्युपछि बिचल्लीमा परेका परिवारका आफन्तजनलाई कांग्रेस नेता जिपछिरिङ लामाले प्रदान गरेको सहयोग हस्तान्तरण गरिएको छ । शनिबार नयाँ पत्रिका दैनिकका दाङ संवाददाता भूपेन्द्र वलीले ५० हजार रुपैयाँ पीडित परिवारका आफन्तजनलाई हस्तान्तरण गरेका हुन् ।

‘सुत्केरी आमाको मृत्युपछि नवजात शिशुको बिचल्ली’ शीर्षकको समाचार पढेपछि लामाले शुक्रबार नयाँ पत्रिकाको केन्द्रीय कार्यालयमा पुगी मृतक परिवारका लागि सहयोग प्रदान गरेका थिए । लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ईश्वरी खनाल, पीडित परिवारको तर्फबाट मृतकका भतिजा हेमराज रोका र अन्य आफन्त, प्रहरी, पत्रकारलगायतको रोहवरमा सहयोग रकम हस्तान्तरण गरिएको हो । आइतबार नै सुपरिटेन्डेन्ट खनाल र मृतकका भतिजा रोकाको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने गरी बैंकमा खाता खोलेर रकम खर्च गरिनेछ ।

राप्ती गाउँपालिका—९ निवासी ४१ वर्षीया पातली रोकाले बुधबार जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् । तर, अत्यधिक रक्तस्रावका कारण बच्चा जन्माएको १० घन्टापछि अस्पतालमै आमाको मृत्यु भएको थियो । सुत्केरी आमाको मृत्युपछि बिचल्लीमा परेका जुम्ल्याहा बालकमध्ये एकजनाको मृत्यु भइसकेको छ । अर्को बालकको तुलसीपुरस्थित तुलसी अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण सन्तानको उपचार गराउन नसकेको बताउँदै बालकका बुबा दीनबहादुर रोका श्रीमतीको शव बोकेर सम्पर्कविहीन भएका थिए । बच्चाको उपचार कसैले गर्ने अवस्था नदेखिएपछि लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ईश्वरी खनालको सहजीकरणमा तुलसी अस्पतालका चिकित्सक किशोर खत्रीले आफ्नै खर्चमा बालकको उपचार गर्देै आएका छन् ।

छिमेकी तथा वडा नागरिक मञ्चका अध्यक्ष भेषबहादुर कार्कीले पीडित परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको र किरिया खर्च जुटाउन पनि छिमेकीले सहयोग गर्नुपरेको बताएका छन् । ‘दीनबहादुरको आर्थिक अवस्था एकदमै कमजोर छ । उनी आफैँ पनि बिरामी छन् । उनका २१ वर्षीय छोरा आमाको किरिया बसेका छन् । उनीहरूसँग किरिया बस्दा खाने अन्नसमेत छैन,’ कार्कीले भने, ‘यो सहयोगले बच्चाको उपचारका लागि ठूलो सहयोग पुर्याएको छ ।’

सहयोग संकलन जारी

पीडित परिवारका लागि अन्य निकायबाट पनि सहयोग संकलनको क्रम जारी छ । हालसम्म गंगा भण्डारी ९काठमाडौं० ५५ सय ५, देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद खनालले पाँच हजार सहयोग गरेका छन् । दाङ फेमिना ग्रुपले १५ हजार रकम संकलन गरिएको जनाएका छन् ।