राजपाको किल्ला मानीने सर्लाहीमा उपेन्द्र यादवको इन्ट्री

सर्लाही ,राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो सर्लाही। उनीहरु तीनै जनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा ओर्लिएका छन्।

चुनावमा जाने भएपछि राजपासँग सम्बन्ध बिग्रिएको छ। यही बेला अध्यक्ष यादव राजपाका नेतात्रयको गृहजिल्ला सर्लाहीमा चुनावी गतिविधिमा केन्द्रित भए। विगतका आन्दोलनको जस लिन पनि यादव चुनावी मैदानमा अहोरात्र खटिएका छन्। राजपाको चर्को विरोध हुँदाहुँदै पनि कार्यकर्ता प्रवेश सभामा सम्बोधन गर्दै यादवले मलंगवा र राजमार्ग क्षेत्रका कार्यकर्तासँग भेटघाट गरे। चुनाव रोकेर रोकिँदैन भन्दै उनले तयारीमा लाग्न कार्यकर्ताको हौसला बढाए।

उनले सर्लाहीमा दुई दिन समय दिए। पटकपटक विभिन्न ठाउँमा राजपा कार्यकर्ताले यादवलाई अवरोध गर्न खोजे, तर सफल हुुन सकेनन्। फोरम नेपाललाई राजपाको विरोधले असर पार्न सकेन। राजपालाई चुनावमा आउन आग्रह गरेका यादवले चुनावी मैदानमा अवरोध गर्न कोही आइलागे आफ्नो पार्टी पनि जाइलाग्ने चेतावनी दिए।