गरीबी र आर्थिक अभावले आठ सन्तानको पढाइ छुट्यो

सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन्।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो। आरन पेसा गरेर परिवार धान्दै आएका मुनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको थियो।

आर्थिक अभावले विद्यालय जानबाट वञ्चित सोरु गाउँपालिका-३ भिई गाउँका एक दलित घरका ८ जना बालबालिकामध्ये १३ वर्षीया नानी कुमाल, ११ वर्षीया सभी कुमाल, ९ वर्षीय रमला कुमाल, ७ वर्षीया राजेन्द्र कुमाल, ५ वर्षीय रन्ज कुमाल, ४ वर्षीय सुर कुमाल र नानी कुमालले बोकेको एक वर्षीय भाइ निसान कुमाल । तस्बिर : जीवन सेजुवाल

उनको मृत्युपछि १७ वर्षीय मनरुप, १५ वर्षीय ज्ञानी, १३ वर्षीया नानी, ११ वर्षीया सभी, ९ वर्षीया रमला, ७ वर्षीय राजेन्द्र, ५ वर्षीय रन्ज र ४ वर्षीय सुर कुमालले पढाइलाई निरन्तरता दिन सकेनन्। आमा र जेठा छोरा मनरुपको कमाइले बिहान-बेलुका खान पनि नपुग्ने भएपछि उनीहरू स्कुल जान छाडेका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

बाबुको मृत्युपछि ९ कक्षा पढ्दै गरेका मनरुपले पढाइ छाडेर आरन पेसालाई निरन्तरता दिएका छन्। माइलो छोरा ज्ञानी गाउँलेसँगै भारत गएका छन्। ‘गाउँलेको फलामका सामग्री बनाएबापत पाउने अन्न र आमाले अरुको काम गरेर ल्याएको अन्नले परिवार धानेका छौं’, मनरुपले भने, ‘बाबुको मृत्युपछि घरको सबै जिम्मा मेरै काँधमा आएको छ। आरनको कमाइले सात भाइबहिनीलाई कापीकलम किन्नसमेत नपुग्ने भएपछि पढाउन सकिएको छैन।’

गाउँमा खेतबारी नभएकाले अहिले सबै परिवार लेकमा रहेको घरमा बसिरहेका छन्। आफूहरू बसेको स्थानबाट गाउँको विद्यालय पुग्न दुई घन्टा लाग्छ। आर्थिक अभावकै कारण सबै भाइबहिनीलाई पढाउन नसकिए पनि एक-दुई जनालाई मात्रै भए पनि जसोतसो पठाउने चाहना भए पनि नसकिएको मनरुपले बताए।