जेल सजाय तोकिएका पूर्व प्रहरी प्रमुख घरमै निर्धक्क सुविधामा

काठमाडौं,  सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्व प्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो ।


सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई एक÷एक वर्ष कैद सजाय तोकिएको छ । तर अदालतले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरु पक्राउ परेका छैनन् । उल्टै सरकारी सुविधा प्रयोग गरिरहेका छन् ।

स्रोतका अनुसार पूर्व प्रहरी महानिरीक्षकको हैसियतमा उनीहरुले प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने सबै सुविधा पाइरहेका छन् ।

स्रोतका अनुसार गुरुङले एक असई, एक हवल्दार, एक प्रहरी जवान र एक प्रहरीबाट कार्यालय सहयोगीका रुपमा सेवा लिइरहेका छन् ।

राणाले पनि दुई हवल्दार, दुई प्रहरी जवानबाट सेवा लिइरहेका छन् । ठकुरीले एक असई, दुई प्रहरी जवान र एक प्रहरी कार्यालय सहयोगी राखिरहेका छन् ।

सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएका नेपाली प्रहरीका निम्ति बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै सर्वोच्चले तीनै जनालाई दोषी ठहर गरेको थियो । फरार भनिएका तीनै पूर्वप्रहरी महानिरीक्षक काठमाडौं मै भेटिन्छन् । तर प्रहरीले यसबारे थाहा नपाएजस्तो गरी अनौठो मौनता साधिरहेको छ । – कान्तिपुर दैनिकबाट