गृहमन्त्रीकाे अादेशमा मध्यरात सामना परिवारका ८ जना कलाकार पक्राउ

काठमाडाैँ,गृहमन्त्रीको ठाडो आदेश भन्दै आइतबार मध्य राती कम्युनिस्ट पार्टीका सामना कलकाकारहरुलाई लाजिम्पाटबाट गिरफ्तार गरिएको छ । लाजिम्पाटमा बस्दै आएका सामना परिवारमाथि रातको ९ बजे प्रहरीले छापा मारेपछि ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरुमा आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम मगर छन् । खानतलासी लिइसकेपछि उनीहरुलाई पक्राउ गरेको हो ।यसैबीच जनताका जनकलाकारहरु बसिरहेको ठाउँमा शेरबहादुर–प्रचण्ड सरकारले मध्यरातमा गरिएको हस्तक्षेपका विरूद्ध जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले एक विज्ञप्ति निकाल्दै गिरफ्तारमा परेका कलाकारहरुको तुरुन्त स–सम्मान रिहाइको माग गर्दै सरकारको यसखाले रवैयाको कडा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ – सरकारका यसखाले रवैया तुरुन्त नरोके हामी सशक्त प्रतिरोधमा उत्रन बाध्य हुनेछौँ । दलाल संसदीय व्यवस्थाका विरुद्ध कुनै पनि मूल्यमा संघर्ष जारी राख्ने प्रतिवद्धतासमेत गरिएको विज्ञप्तिमा भनिएको छ, मृत्युको सन्निकट उभिएको दलाल संसदीय व्यवस्थामाथि अब चौतर्फी हमला गर्नुपर्ने बेला आएको छ । यसले देउवा–दाहालको फासीवादी चरित्र उजागर भएको छ ।

अहिले पनि नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलहरुलाई जेल चलान गरेको छ । पछिल्ला दिनमा केही नेता कार्यकर्तालाई रिहा गरे पनि नयाँ सरकार बनेपछि फेरि रातको समयमा जनताका कलाकारहरुलाई प्रक्राउ गर्नुले राज्यले युद्ध चाहेको प्रस्ट देखिन्छ ।