पूर्वी जाजरकोटमा विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ पठनपाठन ठप्प

जाजरकोट,शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि पूर्वी जाजरकोटमा पठनपाठन सुरु हुन सकिरहेको छैन । विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ लागेपछि हालसम्म विद्यालयको पठनपाठन सुचारू हुन नसकेको हो ।शैक्षिक सुधारको नारा दिएर जिल्लामा शैक्षिक क्यालेण्डर निर्माण गरिएको भएता पनि क्यालेण्डर अनुसारको पठनपाठन हुन नसकेको बारेकोट गाउँपालीका सामाजिक अभियान्ताहरुको भनाई रहेको छ ।

जिल्लामा शैक्षिक सुधारको नारा र जिल्ला शिक्षा कार्यालयले निर्माण गरेको शैक्षिक क्यालेण्डर भित्तामा झुुण्ड्याउने पोष्टर बाहेक अरु केहि बन्न नसकेको भन्ने उनीहरुको आरोप छ ।विद्यालयको ढोका मात्र खुल्ला रहने गरेको तर, हालसम्म विद्यालयमा कुनै पठनपाठन हुन नसकेको सामाजिक अभियान्ताहरुको भनाई रहेको छ ।विद्यालयमा विद्यार्थीहरुको उपस्थिति नै नरहेपछि विद्यालयको पठनपाठन ठप्पै भएको अभियान्ताहरुले जानकारी दिएका छन् ।

शैक्षिक क्यालेण्डर अनुसार विद्यालयको गतिलाई अगाडी वढाउन सर्वप्रथमत शिक्षकहरु बढी जिम्मेवार बन्नु पर्ने उनीहरुको तर्क छ । त्यसैगरी विद्यार्थीहरुलाई नियमित विद्यालयमा पठाउनका लागि अभिभावहरु पनि त्यतिकै जिम्मेवार बन्नु पर्ने भन्दै सामाजिक अभियान्ताहरु बताउछन्– ‘भौगलिक रुपमा विकट हुनु, सदरमुकाम खलंगादेखि बारेकोट निकै टाढाको दूरीमा हुनु, जिल्ला शिक्षा कार्यालयवाट अनुगमन नहुनुले नै हालसम्म विद्यालयमा पठनपाठनको काम अबरुद्ध भैरहेको छ ।

‘विद्यालय भवन निर्माणमा गुणस्तरहीनजिल्ला शिक्षा कार्यालयवाट वितरण गरिएका विद्यालय भवनहरुको निर्माण कार्यमा गुणस्तरहीन भएको पाईएको छ । भवन बाहिरवाट हेर्दा निर्माण कार्य पूरा भएको जस्तो देखिएता पनि प्राविधिक स्टामेटअनुसार बन्न नसकेको भन्दै सर्वसाधारणहरुले गुनासो व्यक्त गरेका छन् । भवन गुणस्तरहीन भएपछि विद्यार्थीहरु कक्षा कोठाभित्र नबसेर चौरमै बसेर पढ्न बाध्य भएको सर्वसाधरणहरुले बताउने गरेका छन् ।कतिपय विद्यालयमा हाल सम्म पाठ्यपुस्तक पुग्न सकिरहेका छैनन् भने कतिपय विद्यालयमा बिषयगत शिक्षक नहुदा पठनपाठनमा समस्या आईरहेको जनाईएको छ ।