गोविन्द गौतमको हत्यापछि गएको सीमा सर्भे टोली रित्तै फर्कियो

महेन्द्रनगर ,कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा विवाद टुङ्ग्याउन आएको सीमा सर्भे टोली काम नसकी फर्किएकोे छ ।
सरकारले सीमा क्षेत्रको विवाद टुङग्याउन भन्दै गत चैत्र २५ गते नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्य, नापी अधिकृत दिपेशवाल र काशीलाल चौधरी सहितको तीन सदस्यीय टोलीलाई पुनर्वासमा पठाएको थियो । कार्यक्षेत्रमा आएर काम थालेको टोलीले काम सम्पन्न नगरी फर्किएपछि स्थानीयवासीहरु भने आक्रोशित भएका छन् ।

पुनर्वासका स्थानीय पत्रकार हेमन्त न्यौपानेले काम गरिरहेको टोली रातारात काठमाण्डौ फर्किएपछि स्थानीय आक्रोशित भएका र तत्काल काम सम्पन्न गरेर अस्पष्ट सीमाको समस्या समाधान गर्न माग गरेको बताउनुभयो । नेपाली र भारतीय सीमा सर्भे टोलीले चैतदेखि विवादित क्षेत्रको सीमा सर्भेको काम गर्दै आइरहेका थिए ।

सीमा सर्भे टोलीले विवाद क्षेत्र छुट्याएपछि भारतीय पक्षको सास्तीबाट छुटकारा पाउने आशा बोकेका स्थानीय बासिन्दा दुई महिना अघि आएको सीमा सर्भे टोली काम नसकी फर्किएपछि निराश भएका छन् । एक सय ९८ र एक सय ९९ नम्बरको रिफ्रेन्स पिलरबाट पाँच सय मिटर भारततर्फ नेपाली भूमी परेकाले भारतीय पक्षले एक हप्तादेखि काम गर्न नदिएको भन्ने बुझिएको स्थानीयले बताएका छन् ।
नेपालका तर्फबाट सीमा सर्भे टोलीमा खटाइएका नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यले विभागबाट बोलाएपछि आफ्नो टोली फर्किएको बताउनुभयो । ‘कञ्चनपुर मात्र नभई टोलीलाई कपिलवस्तु, दाङ्ग र रुपन्देहीको समेत सर्भे गर्ने जिम्मेवारी हो’ उहाँले भन्नुभयो, ‘अहिले वर्षात शुरु हुन लागेको र काम पनि गर्न नसकिने हुँदा टोली फर्किएको हो ।’ उहाँले नेपाल र भारतका उच्च स्तरीय समितिको असार ७ गतेको बैठक समेत भएकाले सो बैेठकमा समेत अहिलेसम्मको कामका बारेमा जानकारी पेश गर्नुपर्ने भएकाले काठमाण्डौ जानु परेको बताउनुभयो ।

असार ७, ८ र ९ गते एसओसी( सर्भेयर अफिसर कमिटी) को बैठक बस्ने भएको छ । उक्त बैठकमा नेपाल भारतका उच्च सीमा सर्भे अधिकारीहरुले छलफल गरेर थप निर्णय गर्ने जनाइएको छ । नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यले विभागले खटाएका समयसम्म सर्भे टोलीले काम गरेको र विभागको निर्णयपछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार दुवै पक्षको सहमतिपछि वर्षातमा काम गर्न नसकिने हुँदा टोली फिर्ता भएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले टोली फिर्ता भएको बारेमा आधिकारिक जानकारी नआएको बताउनुभयो । ‘टोलीका प्रमुख नापी अधिकृत निर्मल आचार्यले अन्य जिल्लाको अवस्था र विभागबाट समेत बोलाइएकाले काठमाण्डौ हिडेको जानकारी दिनुभएको हो’ प्रजिअ खनालले भन्नुभयो,‘ तर टोलीले कामै नसकेर फर्किएका विषयमा विभागबाट समेत जानकारी आएको छैन््’ ।
यसअघि, सीमा क्षेत्रका विषयका नेपाली र भारतीय पक्ष वीच पटक पटक विवाद हुदै आएको थियो । गत फागुन २६ गते पनि सीमा क्षेत्रमा कलभर्ट बनाउने विषयमा विवाद हुदा भारतीय सुरक्षाकर्मीको गोली लागेर पुनवार्सका गोविन्द गौतमको ज्यान गएको थियो । स्थानीय गोविन्द गौतमको ज्यान गएपछि सो क्षेत्रमा विवादित सीमाको समस्या समाधानका लागि भन्दै सरकारले निर्मल आचार्यको नेतृत्वमा सर्भे टोली कञ्चनपुर पठाएको थियो । अन्नपुर्णमा खबर छ ।