देउवा सरकारमा माओवादीका सबैलाई मन्त्री चाहियाे !

काठमाण्डाैँ, सत्तारुढ नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता अप्ठेरोमा परेका छन् ।देउवा सरकारमा माओवादीले गृहसहित १० मन्त्रालय पाउने सहमति छ । राप्रपा र साना दललाई सहभागी नगराइए बढीमा १२ वा १३ मन्त्रालयसम्म दिन प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको स्रोतले बतायो । तर सांसद रहेका सबै मन्त्रीका आकांक्षी देखिएका छन् । दोश्रो संविधानसभामा माओवादीको ८३ सांसद थिए ।

जसमध्ये बाबुराम भट्टराईले सांसद पदबाट राजीनामा दिएर नयाँ शक्ति पार्टी गठन गरे । सभामुख भएपछि ओनसरी घर्तीले पार्टी त्यागेका कारण उनको गणना हुँदैन । प्रधानमन्त्री भइसकेका अध्यक्ष प्रचण्ड मन्त्री हुने कुरा भएन । यी तीनबाहेक सबैले मन्त्रीमा दाबी गरेको माओवादी केन्द्रका एक हेडक्वार्टर सदस्यले काठमाण्डु टुडेलाई बताए । पहिलो चरणमा माओवादीबाट देउवा सरकारमा कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्रमन्त्री, जनार्दन शर्माले गृहमन्त्री र प्रभु साह बिना विभागीय मन्त्रीका रुपमा बुधबार सपथ लिए ।

महरा पूर्ववर्ती प्रचण्ड सरकारमा उपप्रधानसहित अर्थ र शर्मा उर्जामन्त्री थिए । बाँकी मन्त्रीमा टेबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डलको करिब पक्काजस्तै छ । मन्त्री माग्नेको भिड र टेलिफोनले नेताहरु आजित भइसकेका छन् । माओवादीका सातवटै प्रदेशले कम्तिमा चार÷चार जनाको दरले मन्त्रीमा नाम सिफारिस गरेर पठाएका छन् । अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मालगायत मन्त्री माग्नेको चककत सुनेर हैरान भइसके ।

मन्त्री नपाए पार्टी छाड्नेदेखि नेताहरुका गलत क्रियाकपाल बाहिर ल्याइदिनेसम्मका धम्की सांसदहरुले दिन थालेका छन् । ‘सबैलाई मन्त्री चाहिएको छ, आफूबाहेक अरु साथीको नाम लिन कोही चाँहदैनन्’, एक वरिष्ठ नेताले भने, ‘प्रचण्ड र ओनसरीबाहेक सबैलाई मन्त्री चाहिएको छ ।’