अब तराजु नजाँची सामान बिक्री गर्ने व्यवसायी कार्वाहीमा

काठमाडाैँ,नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया थालेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले प्रमाणित मापदण्डका तराजुमा नजाँची समान बिक्री गर्ने व्यवसायी कार्वाहीको दायरामा आउने बताए ।

कार्यालयले नापतौल यन्त्र नयाँ अनुमति तथा इजाजत वितरण, नापतौल यन्त्र चेकजाँच, पेट्रोलियम पदार्थ वितरण पम्प चेकजाँच, सवारी ट्याङ्क जाँच लगायत कार्य गर्दै आएको छ ।

यस्तै वैशाखमा काभ्रेपलाञ्चोक जिल्लामा ३५० फर्म, काठमाण्डुको वनस्थलीमा १० फर्म र बूढानीलकण्ठ तथा वसुन्धरा क्षेत्रमा सातवटा फर्म अनुगमन गरी नियम विपरीत सञ्चालन गरेको भन्दै रोक्का गरिएको थियो ।

कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ अनुमति वितरणबाट रु ९८ लाख सात हजार ७३८ राजस्व सङ्कलन गरेको छ । १० हजार ५७८ साधन चेकजाँच तथा नयाँ अनुमति वितरणबाट उक्त राजस्व सङ्कलन भएको हो ।