रामदेवको पतञ्जलीको औषधि विक्रिमा रोक

काठमाडौं, नेपाल सरकारले रामदेवको पतञ्जली आर्युर्वे्दिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु विक्री वितरण गर्न रोक लगाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले गुणस्तर परीक्षण गर्दा ती औषधीहरु गुणस्तरहिन पाइएकाले नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । साथै विभागले जहाँ जहाँ ती औषधीहरु छन् ती औषधिहरु तुरुन्त फिर्ता गर्न समेत निर्देशन दिएको छ ।

विभागले औषधि ऐन २०३५ को दफा १४ अनुसार यस्तो निर्णय गरेको जनाएको छ । बजारमा रहेका त्यस्ता औषधिको विवरण औषधि व्यवस्था विभागमा पेश गर्न आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई निर्देशन दिइएको छ । उपभोक्तालाई पनि ती औषधिहरु प्रयोग नगर्न आह्वान गरिएको छ ।

प्रतिबन्धित औषधिहरुमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण रहेका छन् ।