सुरक्षाकर्मीलाई जथाभावी अन्तर्वार्ता नदिन र वक्तव्यबाजी नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मीहरूलाई जथाभावी अन्तर्वार्ता नदिन र वक्तव्यबाजी नगर्न निर्देशन दिएका छन्। बुधबार पदभार ग्रहण गर्दै गृहमन्त्री शर्माले प्रहरी अधिकृतहरूले जथाभावी रूपमा वक्तव्य दिँदा प्रहरी संगठनमा आँच आएको बताउँदै भने, ‘प्रहरी संगठनका अधिकारीलाई जथाभावी वक्तव्यबाजी गर्न र पत्रिकाबाजी गर्न आजैका मितिदेखि रोक लगाइएको छ।’ गृहमन्त्री शर्माले यदि यसो गरिएको पाइएमा कारवाही गरिने चेतावनीसमेत दिए।

सँगसँगै उनले प्रहरी संगठनभित्रको राजनीतीकरण र अनुशासनहीनता पनि आजैदेखि बन्द गरिने बताए। गृहमन्त्री शर्माले नेपाल प्रहरीलाई अबका दिनमा जनताको आवश्यकता र चाहनाअनुसार सुदृढ र विकसित गरिने पनि प्रस्ट पारे। उनले राष्ट्रको काँधमा अहिले भयरहित र निष्पक्ष रूपले निर्वाचन सम्पन्न गर्नुपर्ने अभिभारा रहेकाले त्यसका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशनसमेत दिए।