फ्रि तिब्बतपक्षधर देउवा बने प्रधानमन्त्री नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध धुमिल बन्दै

यसअघि तीन पटक नेपालको प्रधानमन्त्री हुँदा गरेको विवादास्पद काम, भारतमा बसेर चीन विरोधी गतिविधि गर्दै आएका दलाई लामासँगको शंकास्पद सम्बन्ध आदि कारणले आजबाट मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित शेर बहादुर देउवाको सत्तारोहरण नेपाल र नेपाली जनताको भावना विरुद्ध हुन पुगेको छ ।

माओवादी केन्द्रको मुख्य सहयोगमा प्रधानमन्त्री पदमा पुगेको देउवा नेपालको उत्तरी छिमेकी मुलुक चीनविरोधी गतिविधिमा संलग्न भएका तथा पश्चिमा देशहरुले दक्षिण एसियामा चलाएको मिशनमा सहभागी व्यक्ती भएकै कारण नेपालको लागि देउवाको सत्तारोहण दूर्भाग्यपूर्ण हुन पुगेको छ । अझै इतिहासको निर्मम समीक्षा गर्ने हो भने १० वर्षसम्म चलेको जनयुद्धको समयमा आफ्नै देशका नागिरक विरुद्धमा सेना परिचालन गर्ने तथा आतंककारी घोषणा गरेर टाउकाको मूल्य तोक्ने कार्यमा संलग्न व्यक्ति नेपालको प्रधानमन्त्री जस्तो पदमा पुग्नु देश, जनता र क्षेत्रीय रणनीतिक महत्वको रुपमा समेत घातक हुन पुगेको छ ।

केपी ओली नेतृत्वको सरकार ढाल्ने बेलामा माओवादी केन्द्रले खेलेको भूमिका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन भन्दा पनि शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने सम्झौता घातक रहेको भन्दै चर्को आलोचना गरिएको थियो । अहिले उक्त आलोचनाको औचित्य पुष्टि भएको छ । नेपालको उत्तरी छिमेकी चीनविरुद्धमा सक्रिय फ्रि तिब्बत आन्दोलनमा सहयोग गर्दै आएका देउवालाई प्रधानमन्त्री पदमा पु¥याउन भूमिका निर्वाह गर्ने माओवादी केन्द्रले समेत चीन सरकार, चिनियाँ जनता र नेपाली जनता तथा नेपाल राष्ट्रका विरुद्धमा घात गरेको तथ्य अगाडि आएको छ ।

यसअघि प्रधानमन्त्री बनेको समयमा देउवाले नेपाली जनताको लागि भन्दा पनि युरोपियन मिशनको लागि काम गरेको आरोप तत्कालिन वाम विश्लेषकहरुले लगाउँदै आएका थिए । हुन पनि उनी प्रधानमन्त्री बनेको बेला मुलुकले दूर्भाग्यपूर्ण अवस्थाको सामना मात्रै गर्नु परेको थियो । चाहे त्यो असोज १८ को बाधा अड्काउ फुकाउ होस वा चाहे त्यो माघ १९ मा ज्ञानेन्द्र शाहले गरेको शाही कू होस्, सबैमा यिनै देउवा प्रधानमन्त्री थिए । त्यसैकारण यस पटक पनि देउवाको सत्तारोहरणलाई सामान्य अर्थमा लिन नहुने राजनीतिक विश्लेषकहरुले औल्याएका छन् । डिजाइनमा विदेशीको उपयोगमा फस्दै देश र जनतालाई बर्वादमा पार्दै आएका देउवाले यस पटक उत्तरी छिमेकी मुलुक चीनलाई समेत अप्ठेरोमा पार्ने सम्भावनाहरु अगाडि आएका छन् ।

लोप्साङ् साङ्गेसँगै भाषण गर्ने देउवाकै कारण नेपाल–चीन सम्बन्धमा तुषारापात

नेपाली कांग्रेसका सभापति पदमा निर्वाचित भईसकेपछि गत वर्ष भारतको गोवामा आयोजित एक कार्यक्रममा तिब्बतका निर्वासित सरकारका प्रधानमन्त्री लोप्साङ साङ्गेसँग एउटै मञ्चमा बसेर भाषण गरेका देउवा पहिलो पटक फ्रि तिब्बत आन्दोलनमा जोडिएको तथ्य उजागर हुन पुगेको थियो । त्यसअघि उनीमाथि आरोप मात्रै लाग्दै आएकोमा गोवा फोरममा दलााई लामाका प्रधानमन्त्रीसँगै बसेर भाषण गरेपछि उनको चरित्र उदाङ्ग बनेको थियो ।

विवादित छवीका देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि मुलुकको छवी अन्तर्राष्ट्रिय स्तरमा समेत धुमिल हुने भएको छ । एकातिर युरोपियन देशहरुले नेपालमा फ्रि तिब्बत अभियान चलाउने उपयुक्त मौका भएको भन्दै दवाव बेस्सरी थोपर्ने र अर्कोतर्फ चीनले आफ्नो देशविरुद्ध नेपालबाट गतिविधि भएको भन्दै दोहोरो दवावमा नेपाल पर्ने देखिन आएको छ । एक चीन नीतिका विरुद्धमा अमेरिका, युरोप लगायतका देशहरुले चर्को दवाव दिइरहेका बेला नेपालबाट चीन विरोधी गतिविधि भएमा तथा फ्रि तिब्ब्त आन्दोलनलाई स्पेश दिएको अवस्थामा चीनसँगको नेपालको सम्बन्धमा थप जटिलता आउने सम्भावना अगाडि आएको छ । नेपालमा रहेको भारतविरोधी जनभावनाको कारण चीनले त्यतिसजिलै नेपालसँगको सम्बन्धलाई जटिल बनाउन नचाहे पनि सरकारी रवैयाका कारण चीन कडा नीति लिन बाध्य हुने परिस्थिति बन्ने देखिन आएको छ ।

कांग्रेस सभापति देउवा चीन बिरोधी खेमामा उभिएको तथा यसअघि भारतको गोवामा तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्रीसँग एउटै मञ्चमा उभिएर भाषण गरेको तथ्य थाहा हुँदा हुँदै पनि माओवादी केन्द्रले देउवालाई प्रधानमन्त्री बनाएर चीनविरोधी मोर्चाबद्ध अभियानको साक्षी किनारामा निवर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेतमा देखिएका छन् । चिनियाँ क्रान्तिका नायक तथा महान् नेता माओत्सेतुङ्गको विचारलाई आफ्नो पार्टीको नामसँग जोडेर दश वर्ष जनयुद्धको नेतृत्व गरेर आएका अध्यक्ष प्रचण्ड स्वयम् यतिबेला माओत्सेतुङको भूमि चीन विरोधी मोर्चामा सहभागी मात्रै भएका छैनन्, चीनविरोधी पात्रलाई अगाडि सार्न किरानामा हस्ताक्षर समेत गरेर साक्षी बसेका छन् । यसबाट माओवादी केन्द्रको राजनीतिक भविष्य समेत आगामी दिनमा सहज रुपमा अगाडि बढ्न नसक्नेदेखिएको छ ।जनता जिन्दाबादबाट