के.आई सिंहको भूतबाट आत्तिदै भारत
नेपालमा बढ्दो भारतीय ज्यादतीका विरुद्धमा उभिएका आएका नेपालीहरुलाई भारतीय सुरक्षाकर्मी सिधैं नेपाल छिरेर गुण्डागर्दी र अपहरण कार्य जारी राखेका छन् । दिल्लीका लागि काम गर्ने नेपालको सुरक्षा एजेन्सीका कारण दोषी भारतीय सुरक्षाकर्मीमाथि नेपाल सरकारले कडा कारवाही गर्न सकेको छैन । पछिल्लो पटक गत साता डोटीमा छिरेको भारतीय सुरक्षाकर्मीलाई नेपाली नागरिक अपहरण गरेको अवस्थामा रंगेहात पक्राउ गरेको भएपनि नेपाल सरकारले बिना शर्त रिहा गरिदिएको थियो ।
अझ पछिल्लो समय भारतको चासो २००७ सालमा राजा त्रिभुवनले दिल्ली सम्झौताविरुद्ध क्रान्ति जारी राखेको विरुद्धमा विद्रोह गरेका चर्चित व्यक्ति केआईसिंहको जन्मस्थानमा भारतीय प्रहरीको तिखोदृष्टि अझै हटेको छैन । २०४७ मंसिर १७ गते राती करिब ४ वटा मोटरमा २५ जना भारतीय प्रहरीले इलामको बुद्धधाम गाविसमा प्रवेश गरी त्यहाँका घरहरूमा खानतलासी लिएको थियो । २०५० चैत्र १४ गते राजधानी मुटु वानेश्वरको एक घरमा भारतीय प्रहरीले एकाविहानै छापा मारेको घटना नेपाली जनताले अझै बिस्रेका छैनन । २०६१ असार १४ गते थानकोटबाट हतियारधारी भारतीय प्रहरीसमेत ६ जना पक्राउ गरिएको थियो । २०६६ मंसिर २२ गते बर्दीधारी भारतीय हवल्दार अछाम पुगेका थिए ।
२०७० वैशाख १२ गते प्रहरी निरीक्षक शिभप्पा कारियामको नेतृत्वमा ३ जना भारतीय प्रहरी टोली बझाङको सदरमुकाम चैनपुर पुगेको थियो । ०७० असोज २ गते बर्दियाको गुलरिया नगरपालिका ८ स्थित मञ्जुलकुमार श्रेष्ठको घरलाई एकदर्जन भारतीय प्रहरीले एकाबिहानै घेरा हाली छापा मारेका थिए । डोटीमा मात्रै एकवर्षको अन्तरालमा दुईपटक भारतीय प्रहरी प्रवेश गरेको छ । गते वर्ष अर्थात २०७३ वैशाख १४ गते बर्दिधारी भारतीय प्रहरीको टोली एके ४७ राइफलसहित डोटी अछाम सीमा चौखुट्टेबाट पक्राउ परेको थियो । डोटीबाट पक्राउ गरी धनगढीमा ती भारतीय प्रहरीलाई नेपाल प्रहरीले भारतीय दूताबासका प्रथम एन कनान र पंजाब प्रहरीका डीएसपी घुरमित सिंहलाई जिम्मा लगाएको थियो । डा। केआइ सिंह विद्रोहदेखि हालसम्म आइपुग्दा भारतीय सुरक्षाकर्मीको गैरकानूनी नेपाल प्रवेश र नेपाली जनताले भारतीय सुरक्षाकर्मीबाट ज्यान गुमाएका घटनाको लामो सूची छ ।
डुम्राकोट डोटी निवासी डा. केआइ सिंहको विद्रोह दमनका लागि तत्कालीन सरकारले २००७ फागुन ९ गते पहिलोपटक सेनालाई नेपाल प्रवेश गराएको थियो । २००८ असार २५ गते भैरहवा जेल ब्रेक गरेका केआइ सिंहलाई पक्रन तत्कालीन सरकारले पुनः ‘मराठा इन्फेन्ट्री’ बोलाएको थियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेपालमा भारतीय मिलट्री मिशन भित्राएका थिए । मातृका सरकारले नै नेपालको उत्तरी सीमामा भारतीय सेनाका १८ ओटा चेकपोष्ट राख्न दिएको थियो । २०१० साउन १७ गते डोटीको बुडरमा भारतीय सेनाको सहयोगमा महान किसान नेता भीमदत्त पन्तको कायरतापूर्वक हत्या गराउने पनि मातृका कोइराला नै थिए । सन् ५० को दशकमा कालापानीमा फौजी ब्यारेक बनाएका भारतीय सुरक्षाकर्मी अहिले पनि नेपाली भूमिमा बूट बजारी नै रहेका छन् । तर, नेपालका शासकहरु दिल्लीको आदेशको पालना गर्दै आएका छन्, जनताले नेपालका शासहरुलाई दिल्लीका दासझै आज्ञा पालन गरेको भन्दै चर्को आलोचना गर्दै आएपनि राजनीतिक नेतृत्वमा विवेकपूर्ण व्यवहार गर्ने नेतृत्व जन्मन सकेको छैन ।जनता जिन्दाबाद साप्ताहिबाट