सुरक्षाभत्ता नबढाएको भन्दै ज्येष्ठ नागरिक सडकमै लम्पसार

काठमाडौं, सामाजिक सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आइतबार (आज) राजधानीमा प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए ।

ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, कानुनबमोजिम ६० वर्ष पुगेपछि वृद्धभत्ता उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् ।

समाजका अध्यक्ष महाप्रसाद पराजुलीले अहिले ज्येष्ठ नागरिकले पाइरहेको रु दुई हजारलाई बढाउने भनेर राजनीतिक दलका शीर्ष नेताले प्रतिबद्धता जनाउँदै आएपनि कार्यान्वयन नगरेको गुनासो गरे ।

स्थानीय तहका जनप्रतिनिधिले ज्येष्ठ नागरिकले पाउँदै आएको भत्ता बढाउन खोजेपनि सरकारले त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पराजुलीले आपत्ति जनाए ।