तीन दलबीच चार बुँदे समझदारी,संसद अवरुद्ध खुल्ने

काठमाडौ,सत्ता पक्ष र प्रमुख प्रतिपक्ष वीच देखिएको विवाद समाधान गर्दै मंगलबारदेखि व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरवारमा बसेको तीन दलका शिर्ष नेताहरु वीच चार बुँदे सहमति भएपछि अवरुद्ध संसद सञ्चालन हुन लागेको हो ।

संसदको अवरोध हटेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित हुने बाटो खुलेको छ । संभवत मंगलबार नै देउवा नेपालका ४० औ प्रधानमन्त्रीमा निर्वाचित हुनु हुनेछ । काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँहरुले आ आफना तर्क संसदको बैठकमा राख्नु हुनेछ ।

बैठकमा सहभागी साँसद रामनारायण विडारीले अन्नपूर्णसँग भन्नुभयो ‘मंगलबार संसद खुल्छ । तीन जना नेताले सम्बोधन गर्नुहुन्छ । दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुन्छ ।’ ‘अन्तत सहमति नगरिकन अघि बढन सकिदैन भन्ने कुराको बोध नेताहरुले गर्नुभयो । आज म धेरै खुसी छु’सभामुख घर्तीले टवीट गर्नु भएको छ । स्रोतका अनुसार नेताहरु वीच भएको समझदारीलाई नै बाहिर चार बुँदे सहमति भनिएको हो ।

पहिलो बुँदा
अवरुद्ध व्यवस्थापिकाको संसद मंगलबारदेखि सञ्चालन गर्ने,पहिलो बैठकमा तीन दलका तीन शिर्ष नेताले सम्बोधन गर्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने,
दोस्रो बुँदा
असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र धाँधलीरहित गराउने सुनिश्चिता गर्ने
तेस्रो बुँदा
०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्ने
चौथो बुँदा
पहिलो चरणको स्थानीय तह निर्वाचनबारे छानविन गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा निर्वाचनलाई थप मर्यादित बनाउने