स्वेताले पनि सुरु गरिन् एकीकृत नमुना बस्ती निर्माण
सिन्धुपाल्चोक,नायिका स्वेता खड्काले सञ्चालनमा ल्याएको ‘स्वेता श्री फाउन्डेशन’ ले सिन्धुपाल्चोकको चौतारा साँगचोकमा एकीकृत नमुना बस्तीको निर्माण सुरु गरेको छ । ०७२ सालको भूकम्पपछि अहिलेसम्म टहरामा बस्दै आएका चौतारा साँगचोक गढी नगरपालिका १४ इन्द्रावती नदी किनारका माझी समुदायका ६२ परिवारका लागि घर निर्माण गर्न लागिएको हो ।
सोमबार एक कार्यक्रम गर्दै बस्तीको शिलान्यास गरियो । फाउण्डेसनकी अध्यक्ष नायिका स्वेता खड्का र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले बस्तीको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा काठमाडौंबाट पूर्व प्रधान सेनापति रुकमांगत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार वसुन्धरा भुषाल, गायकद्वय प्रमोद खरेल र युवराज चौलागार्इं, हास्य कलाकार जितु नेपाल र शिवहरि बैरागीलगायतका कलाकारहरु पुगेका थिए ।
कार्यक्रममा बोल्दै स्वेताले स्व. श्री कृष्णको जन्म जिल्ला र त्यसमाथि भूकम्पले पूर्णरूपमा क्षति भएको गाउँ भएकाले यसै ठाउँमा बस्ती निर्माण गर्न जागरुक भएको बताइन् । उनका अनुसार बस्ती १ वर्षभित्र हस्तान्तरण गरिनेछ । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले सरकारको तर्फबाट पुनर्निर्माणका काम ढिला भएको र सरकारलाई पनि यस्तै संस्थाको साथ चाहिने भन्दै स्वेता श्री फाउण्डेशनलाई सरकारसँगको सहकार्यका लागि धन्यवाद दिएका थिए ।
‘तपार्इं हामी सरकारले केही गरेन मात्र भन्छौं तर सरकारले मात्र पनि सबै ठाउँमा एकैपटक गर्न सक्दैन । त्यसैले यसरी नै विभिन्न संस्थासँगको सहकार्य हुने हो भने नेपालमा पुनर्निर्माणको काम छिटो हुने थियो’, पोखरेलले भने । स्वेता श्री फाउण्डेशन र सरकारले ‘पब्लिक प्राइभेट मेथड’ प्रयोग गरेर अगाडि बढेको बताइएको थियो । यो मेथडमा सरकारबाट भूकम्प पीडितलाई घर निर्माणका लागि दिइने भनिएको प्रतिघर ३ लाख सरकारको तर्फबाट र अन्य खर्च फाउण्डेसनको हुनेछ ।