मतपत्र च्यातिएपछि चितवनको मतगणना अनिश्चित

चितवन,मतगणनाको क्रममा माओवादी र एमाले प्रतिनिधिबीच विवाद बढेपछि मतपत्र नै च्यातिदा भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । गएराती मतगणनाको क्रममा माओवादी प्रतिनिधिले २ ओटा मतपत्र च्यातिदिएको बताइएको छ ।

वाइसियल नेता मधु न्यौपाने लगायतले मतपत्र च्यातेको आरोप लागेको छ । तर, माओवादी केन्द्रका नेताहरुले भने हार्ने भएपछि एमालेले अनावश्यक बखेडा निकाल्दा यो अवस्था निम्तिएको दाबी गरेको छ ।

विवादपछि बिहान ५ बजेसम्म पुनः मतगणना गर्न बैठक समेत बस्न सकेको छैन । धेरै संख्यामा मतपत्र च्यातिएकाले अब के गर्ने भन्नेमा समेत अन्योलता रहेको छ । अहिले मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच प्रहरीले वाइसियलका न्योपाने र अर्का द्रोण सिवाकोटीका साथै एमालेका गंगा लामालाई पक्राउ परेको छ ।