तक्मा केसीको नथामीएको आँसु हत्यारालाई सामुन्नेमा देख्दादेख्दै म कसरी हांसु

विक्रमसिंह थापा महेन्द्र पुलिस क्लबमा डिएसपी थिए । ज्याद्रो स्वभावका थापा कृष्ण सेनमाथि खुब जाइलाग्थे । पक्राउ परेका माओवादी निकट पत्रकारमा कृष्ण सेन सबैभन्दा बरिष्ठ थिए । थापाले सेनलाई सताएर अरुलाई गलाउन चाहन्थे । निरन्तरको यातनाका कारण कृष्ण सेनको हत्या भयो । युद्धमा इनकाउन्टरमा मारिएको देखाउन उनी माथि गोली दागियो । शबलाई खरानी बनाइयो ।

विक्रमसिंह थापा अहिले काठमाडौं प्रहरीको उच्च निकायमा कार्यरत उनि भर्खर सेवा निबृत भएका छन  । कृष्ण सेनकाे पार्टी  सरकारमा छ । राजनीतिमा धेरै फेरवदल आएको छ । तर, कृष्ण सेनकी जीबनसाथी तक्मा केसीको आंशु थामिएको छैन । कलम बोकेकै कारण कृष्ण सेनलाई मार्ने व्यक्ति उनकै पार्टी नेतृत्वकाे वरिपरि घुमिरहेको दृश्यले तक्मालाई भतभती पोल्ने गर्दछ । कुराकानीका क्रममा तक्मा भावुक भइन् । आंशु लुकाउन खोज्दाखोज्दैपनि सकिनन् ।

२०५९ साल जेठ ६ गते काठमाडौंको बानेश्वरबाट कृष्ण सेन पक्राउ परे । उनी तत्कालिन भुमिगत पार्टी नेकपा माओवादी निकट थिए तर हतियारधारी थिएनन् । उनीसंग कलम थियो । कलमबाटै उनले पहिचान बनाएका थिए । जनदिशा दैनिकका प्रधान सम्पादक, जनादेशका पूर्वसम्पादक, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि र साहित्यकारका रुपमा उनी चर्चित थिए ।पक्राउ परेको एक साता नबित्दै जेठ १३ गते उनको हत्या गरियो । तर, बाहिरी दुनियांलाई अत्तोपत्तो थिएन ।

एक महिनापछि जनआश्थामा समाचार छापियो । कृष्ण सेन खरानी भएको समाचारले पत्रकारिता र साहित्यिक जगतमा हल्लिखल्लि मच्चियो ।शास्त्रधारीलाई शस्त्रधारीले निशाना बनाएको सन्दर्भ अन्तराष्ट्रियकरण भयो । रिपोर्टस् सान फ्रान्टियर्स आरएसएस र अमेरिकास्थित कमिटी टु प्राटेक्ट जर्ना्लिष्ट सिपिजे ले चरम यातनाबाट हत्या गरिएको प्रतिवेदन सार्वजनिक गरे ।

तक्मा पनि हिरासतमा

ईच्छुक गिरफ्तार भइसकेका थिए । तीन दिन पछि तक्मापनि पक्राउ परिन् । बिजयप्रताप भन्ने तक्माका चिनजानका मान्छे थिए । तक्माको खुब ख्याल राखेझैं गर्थे । बीर हस्पिटल नजिकै बिजयले उनलाई पक्राउ गराए । त्यसपछि बल्ल उ सिआडी रहेछ भन्ने भेउ पाइन् । भ्यानमा राखियो । कालो पट्टी बांधेर कता लगियो कता रु नानाथरी कुरा सोध्न थालियो । दुईवटा तस्बिर देखाएर को हुन् भनेर सोधियो । उनले खगेन्द्र संग्रौला र मोहन बैद्य भन्ने जवाफ दिइन् ।

उनलाई आफ्नोभन्दा बढी चिन्ता कृष्ण सेनको थियो । सेनपनि हिरासतमै रहेको र सोधपुछ भइरहेको बताइयो । १५ गते उनलाई माइजुको रोहबरमा छाडियो । छाड्ने बेलामा श्रीमान् सुरक्षित छन् आत्तिनुपर्दैन भनिएको थियो । उनलाई बालाजु राखिएको रहेछ । तक्मालाई के थाह उनलाई हिरासतमा राखेकै समयमा कृष्ण सेनलाई खरानी बनाइसकिएको रहेछ ।

झण्डै १ महिनापछि एकैपटक पत्रिका पढेर उनले मृत्युको खबर पाइन । संकटकालमा माओवादीका नाममा मान्छे मारिदा सहानुभुति दिन आउने साहश कमैको हुन्थ्यो । माओवादीहरु लाखापाखा भइसकेका थिए । आंशु पुछिदिने कोही थिएन । सेनको हत्याका बारेमा राज्यमाथि अपराध गरेको भनि अन्तराष्ट्रिय दबाब पर्न थाल्यो । दबाब थामथुम पार्न सुशील सिंह जबराको नेतृत्वामा छानबिन समिति बनाइयो । सो समितिले त्यस्तो व्यक्ति पक्राउ नै नपरेको प्रतिवेदन पेश गर्यो । छोरी सानै थिइन् । छोरीलाई सबै थाहा दिंदा चोट पर्न सक्थयो । उनी लुकेर रुन्थिन् । छोरीले बाबा खोइ भन्दा गाऊंतिर हुनुहुन्छ भन्थिन् । सम्पर्कमा कोही थिएनन् । सुरक्षा निकायको कडा निगरानी थियो । नारकीय जीबनका भोगाइ सम्झदा अहिलेपनि तक्माका आंखा रसाउंछन् ।

कवितामार्फत जोडिएको जीवन

कृष्ण सेन मृदुभाषी थिए । कलम चलाउन माहिर सेनका बारेमा तक्माको परिवारमा चर्चा भइरहन्थ्यो । तक्माका सान्दाइ बेन्जु र सेन साथीभाइ थिए । सान्दाइको डायरीमा उनले सेनले सान्दाइकै बारेमा लेखेको कविता भेट्टाइन । औधीं कलात्मक कविताले उनको मन छोयो । बेलाबेला सान्दाजुसंगै सेन घरमा आइरहन्थे । बोलचाल कमै हुन्थ्यो । स्नातक तहको अध्ययनका लागि तक्मा काठमाडौं आइन् । कृष्ण सेन काठमाडौंमा लेखनमा मस्त थिए । भेटघाट बाक्लियो । ईच्छुक जेल परे ।

व्यक्ति जेलमामा भएपनि प्रेम कैद भएको थिएन । पत्राचार भइरहन्थ्यो ।सेन जेलबाट छुटे पछि २०४८ माघ ११ गते दाङ्ग बारकुनेमा उनीहरुका बीचमा जनबादी विहे भयो । बिहे भइसकेपछिपनि उनीहरुको भेटघाट बिरलैमात्र हुन्थ्यो । राजनीतिक घटनाक्रम तिब्र बन्दै गयो । तक्मा जागिरको शिलशिलामा नेपालगंज र पोखरा बढी समय बसिन् । काठमाडौंमा पत्रिका सम्पादन गर्ने कृष्ण सेन भुमिगत भए । सेनको सपना बिल्कुल फरक थियो । क्रान्ति सफल भएको हेर्न चाहन्थे ।

कलमधारी उनका शब्द राज्यका लागि असह्य भयो । हिरासतमा राखिएको एक निशस्त्र कलमधारीको ज्यान लिइयो । ज्यान लिने को हो भन्ने पहिचान छ, तर केही गर्न सकिएको छैन । जनवादी क्रान्ति पूरा गर्ने भनि युद्धको कमाण्ड गर्ने प्रचण्ड धेरै फेरिइसकेका छन् । हिजोका कमिसार बस्नेत गृहमन्त्री छन् । नेता शक्तिमा छन् । तर, सहिदका सपना विस्कुनझैं असरल्ल छन् । दृश्य हेर्दा तक्मालाई बिरक्त लाग्दछ ।

सत्य निरुपण तथा मेलमिला आयोगमा उजुरी

कृष्ण सेनलाई हिरासतमा यातना दिंदा देखेका सहकर्मी जिउंदै छन् । यातना सहन नसकी सेन ढलेपछि एम्बुलेन्समा राखेर बीर अस्पताल र शिक्षण अस्पताल महाराजगंजसम्म पुर्याइएको तथ्यपनि छर्लङ्गै छ । तरपनि राज्यको छानबिन समितिले पक्राउ नै नपरेको प्रतिवेदन पेश गरेको सम्झदा उनलाई सत्यनिरुपण आयोगप्रति धेरै आकर्षण छैन ।

त्यसैले ०७३ बैशाख ५ गतेदेखि उजुरी लिन थालिएपनि उनी चुपचाप रहिन् । तैपनि केही भइहाल्छ की भन्ने एकमनले सोच्यो । प्रमाण जुटाउन थालिन । प्रमाण त जिवितै छन् । उनी भन्छिन्, ‘इच्छुकजीको सत्यतथ्य पत्ता लगाउन गाह्रो छैन । अहिले एसएसपी रहेका तत्कालिन डिएसपी बिक्रम सिंह थापालाई सबै थाहा छ ।’

केसीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन गृहमन्त्री खुमबहादुर खड्का, तत्कालिन डिएसपी अमरसिंह शाह, अर्का डिएसपी बिक्रम थापाका बिरुद्धमा उजुरी दिएकी छन् । केसीले मानव अधिकारको गम्भीर उल्लङघन गर्ने पक्ष, व्यक्तिको थाहा भएसम्मको नाम, थर, ठेगाना, हुलिया, तत्काल कार्यरत र हाल कार्यरत कार्यालयको नाम उजुरीमा उल्लेख गरेकी छन ।

उनको उजुरीमा यूनिफाईड कमाण्डको नेतृत्व तहका पदाधिकारीको ठाडो आदेशमा सेनको हत्या भएको र तत्कालिन प्रहरी प्रमुख प्रदिप शमशेर जबरा।, तत्कालिन यूनिफाईड कमाण्डका कमाण्डर प्रज्वल शम्शेर जबरा, डि।एस।पी। बिक्रमसिंह थापा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालिन प्रमुख बिरुद्ध कारबाहीको माग गरिएको छ ।

पत्रकारहरु संगीता खड्का, प्रभात चलाउने, अतिन्द्रकेशरी न्यौपाने र जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई साक्षी राखेर केसीले उक्त उजुरी दर्जा गरेकी हुन् । उनी भन्छिन्, ‘सेनको सहादतीमा गर्व छ । नेतृत्वबाट सहादतीमाथि गद्धारी भइरहेको छ । दोषीलाई कारवाही भएको दिन थोरै भएपनि चित्त बुझाउने स्थिति बन्नेछ । शेरबहादुरदेखि बिक्रमसिंहसम्मलाई कारवाही भएको हेर्न मन छ ।