ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले यसरी दिए जवाफ
काठमाडौं,माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टममा उभिएर सोधेका थिए, फास्ट ट्र्याक के हुन्छ ? प्रधानमन्त्री भएको १० महिनापछि प्रचण्डले ओलीले सोधेको प्रश्न मात्र सम्झिएनन्, जवाफ पनि दिए । बुधबार देशबासीलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले ओलीको नाम नलिई आफूलाई संसदमा सोधिएका प्रश्नहरु सम्झिए ।
त्यसबेला सोधिएको प्रश्न जायज भएपनि सोध्नेहरुको नियत सही नभएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भनेका छन्, ‘फास्ट ट्र्याकलाई लिएर त नियोजित प्रचार नै गरियो । आज म ती प्रश्नहरुको जवाफ दिन चाहन्छु ।’
आफ्नो सरकारले फास्ट ट्र्याक निर्माणको ग्यारेन्टी गरेको प्रचण्डले बताए । लामो समयसम्म राजनीतिक दाउपेचमा मात्र सीमित रहेको फास्ट ट्र्याक नेपाली सेनालाई बनाउने दिने निर्णय भएको भन्दै उनले भने, ‘केही दिनमा म शिलान्यास गर्दैछु ।’ उनले लामो समयदेखि बन्न नसकेको हुलाकी मार्ग पनि तीव्र गतिमा बनिरहेको बताए ।