२० वर्षदेखि संकलित वन्यजन्तुका अखेटोपहार जलाएर नस्ट

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा विगत झन्डै २० वर्षदेखि संकलित वन्यजन्तुका आखेटोपहार सोमबार नस्ट गरिएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर निकुञ्जको मुख्यालय कसरामा आखेटोपहार नस्ट गरिएको हो ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वन्यजन्तुका आखेटोपहार जलाएर उद्घाटन गरेका थिए । २०५४ यता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालयलगायतमा संकलित अखेटोपहार निकुञ्जको कार्यालय कसरा र सशस्त्र वनरक्षक तालिम केन्द्र टिकौलीमा भन्डारण गरिँदै आएको थियो ।

लामो समयसम्म भन्डारण गर्दा व्यवस्थापन र सुरक्षा चुनौती बन्दै गएपछि ‘अखेटोपहारको महत्व छैन’ भन्ने सन्देश दिन विशेष कार्यक्रम गरेर नस्ट गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग, पाटेबाघको छाला, जंगलीहात्तीका दाह्रालगायत नस्ट गरिएको हो ।

यसअघि, सरकारले २०५४ सालमा केही आखेटोपहार जलाएर नस्ट गरेको थियो । त्यसपछि जम्मा भएका अंग सुरक्षित भन्डारण गरिएको थियो । २० वर्षमा गैंडाका ३६९ खाग, पाटेबाघका ६९ थान र चितुवाका ४९३ छाला, जंगलीहात्तीका १८५ दाह्रा, कस्तुरीमृगका ३६ थान बिनालगायतका वस्तु संकलन गरिएको थियो ।