पत्रकारमाथि ज्यादती गरेकाे भन्दै क्रान्तिकारी पत्रकार संगठनद्भारा गम्भीर आपत्ति

काठमाडौँ, स्थानीय निर्वाचन नजिकै जाँदा देशभर पत्रकारहरु माथी राज्यद्वारा गरिएको धरपकड, गिरप्तार, झुट्टा मुद्दा लगाउने गरेको प्रति क्रान्तिकारी पत्रकार संगठनले गम्भीर आपत्ति जनाएकाे छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संगठनले सरकारलार्इ संविधानका माैलिक अधिकारकाे सम्मान गर्न र नागरिककाे बाँच्न पाउने स्वतन्त्रताकाे रक्षा गर्न अाह्वान गरेकाे हाे । स्थानीय निर्वाचनका विषयमा अालाेचना गर्ने वा यसलार्इ खारेज गर्ने घाेषणा गरेकाे दल नेपाल कम्युनिष्ट पार्टीका कार्यक्रमप्रति नरम दृष्टि राख्ने थुप्रै पत्रकारहरुलार्इ सरकारले गिरफ्तार गर्ने अातंकित पार्ने जस्ता कार्य व्यापक मात्रामा गर्न थालेपछि संगठनका अध्यक्ष प्रभात चलाउनेले विज्ञप्ति जारी गर्दै सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।

संविधानले व्यवस्था गरेका अाधारभूत माैलिक अधिकारहरुकाे समेत सरकारले उल्लंघन गरेकाे भन्दै अध्यक्ष चलाउनेले यसबारे सबैलार्इ अावाज उठाउन पनि अपील गरेका छन् । सरकारले देशभर करिव ३०० जना मानिसहरुलार्इ समातेकामा त्यसमा अाधा दर्जन पत्रकारहरु परेकाे विज्ञप्तीमा उनले जानकारी दिएका छन् । सरकारले देशका विभिन्न ठाउँमा विनाकारण मानिसहरुलाई गिरफ्तार गर्ने, धम्की दिने, घरघरमा पुगेर खानतलासी गर्ने क्रियाकलापहरु तीब्र बनाएको बताउँदै त्यसप्रति अाफ्नाे संगठनकाे गम्भीर ध्यानाकर्षण भएकाे चलाउनेले बिज्ञप्तिमा बताएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब समेत रहेका चलाउनेद्वारा जारी बिज्ञप्तिमा देशभर करिव एक दर्जन पत्रकारहरु गिरफ्तार गरिएको, बिभिन्न सञ्चारमाध्यमका कार्यालय, त्यसमा कार्यरत पत्रकार÷लेखकहरुलाई प्रहरीले फोन गरेर सोधपुछ गर्ने, धम्की दिने काम गरिरहेको बताइएको छ ।

बिज्ञप्तिमा भनिएको छ – ‘घरमा बसिरहेका, आफ्नो कार्यालयमा काम गरिरहेका तथा बाटोमा हिडिरहेका बेला करिव ३०० जना मानिसहरु गिरफ्तारीमा परेका छन् । सरकारको यसखालको व्यवहारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधान २०७२ को धारा १६ देखि ४८ सम्म मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ ।’ त्यस्तै चलाउनेले समाजको ऐनाका रुपमा रहने पत्रकारिता पेशा अंगालेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने अधिकारसहित संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरुलाई सरकार र सरकारका विभिन्न संरचनाबाट कुल्चने काम भएको बताएका छन्। बैशाख १९ गते क्याम्पसमा पढाएर घर फर्कदै गरेका उपप्राध्यापक समेत रहेका रुकुमका पत्रकार हरीबिष्णु ओलीलाई बाटोबाटै गिरफ्तार गरेर अहिलेसम्म हिरासतमा राखिको, बैशाख २१ गते पर्वतका पत्रकार गोपाल जिसीलाई घरबाटै गिरफ्तार गरिएको बताइएको छ । यस्तै बैशाख २५ र २६ गते भएको नेपाल पत्रकार महासंघ रोल्पाको जिल्ला अधिवेशनमा प्रदेश पार्षदमा उम्मेदवार भई विजयी भएका पत्रकार पुष्टमान घर्ती मगरलाई सोही प्रक्रियामा सहभागी भइरहेकै बेला २७ गते बिहान पक्राउ गरी हिरासतमा राखिएको बताइएको छ । काठमाडौंको बागबजारमा चिया खाइरहेका अवस्थामा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि), गम्भीर पाठक, योगेश बराललाई गिरफ्तार गरिएको, मकवानपुरबाट प्रकाशित हुने जनता जिन्दावाद साप्ताहिकका सम्पादक तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय कार्यालय सचिव तिलक अधिकारीलाई बजारमा बसिरहेका बेला एक दर्जन प्रहरी पठाएर घेरा हाल्ने र गिरफ्तार गर्ने प्रयास गरिएको बताएइको छ । काठमाडौको बागबजारमा रहेको रातो खबर साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरीले घेरा हाल्ने, कार्यालयमा छापा मार्ने र उक्त पत्रिकाका निर्देशक अनिल शर्मालाई पटक पटक फोन गरेर सोधपुछ गरी आतंकित बनाउने काम भएको अध्यक्ष चलाउनेले बताएका छन । त्यस्तै कोटेश्वरमा रहेको इमान्दार मिडियाको कार्यालयमा फोन गरेर प्रहरीले अनावश्यक साेधपुछ गरेको छ । नेपाल पत्रकार महासंघका काठमाडौ शाखा सदस्य तथा वेभ डेभलपर चुडामणी श्रेष्ठलाई उनको घरमै गएर प्रहरीले अनावश्यक सोधपुछ गरी दुःख दिएकोप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।