द्वन्द्वपीडितका सर्त‘- भोट चाहिए छोरा खोजिदिनू’

जाजरकोट, खोइ मेरो छोरो ? १७ वर्षदेखि राज्यसँग गुनासो गर्दै आएकी ६९ वर्षीया धनी रानाको यो प्रश्न अब स्थानीय तहका उम्मेदवारतिर सोझिँदै छ । भोट माग्न आउने कांग्रेस, एमाले, माओवादीलगायत दलका नेता, कार्यकर्तासामु उनले मतदानका लागि यही सर्त राख्ने गरेकी छन् । ‘यतिका वर्षपछि फेरि नेता बनेर त आउनुभयो तर बेपत्ता छोराको खोजीमा खोइ चासो ? उनी आक्रोश पोख्छिन्, ‘द्वन्द्वपीडितका समस्या नबुझ्ने, भोट माग्न मात्रै आउने ?

भेरी नगरपालिका–१ पिपेकी रानाका छोरा गुमानसिंहलाई सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीले राकमबाट बेपत्ता पारेका थिए । त्यसयता परिवारले अनेकौं प्रयत्न गर्दा पनि उनको अवस्था पत्ता लगाउन सकेन । ‘कानुनमा स्नातक पढ्दै गरेको छोरो बेपत्ता छ तर कसैले खोजी गरिदिँदैन,’ पिता ७३ वर्षीय टकवीरले भने, ‘छोरो फर्कने आसैआसमा जीवन बित्यो । नेता चुनावमा यसो गर्छौं, त्यसो गर्छौं भनेर भोट माग्न मात्र आउँछन् । हामीजस्ताको मर्का कसले बुझ्ने रु’

अर्की द्वन्द्वपीडित ६५ वर्षीया मनबुजा राना सहिदका सपना साकार पार्नेलाई मात्र भोट दिने बताउँछिन् । विगत निर्वाचनमा नेताले मीठा भाषण र झुटा आश्वासनका भरमा भोट फुत्काउने तर चुनाव जितेर गएपछि फर्केरै नआएको उनले देखेकी छन् । संविधानसभाका दुई निर्वाचनमा हालेको भोटले द्वन्द्वपीडितका घाउमा मलम लगाउन नसकेको रानाको बुझाइ छ । ‘हाम्रा दुस्खमा कसैले साथ दिएनन्, यहाँ सबैजसो घर द्वन्द्वपीडितकै छन्,’ उनले भनिन्, ‘भोट माग्न त आएका छन् तर हाम्रा समस्या समाधान गर्ने योजना बोकेका उम्मेदवार एउटै छैनन् ।’ १६ वर्षअघि उनका २० वर्षीय छोरा केशवको मंगलसेन घटनामा ज्यान गएको थियो ।

सोही वडाकी दीपा कामी पनि बेपत्ता पति खम्बेको खोजतलास गर्नेलाई भोट दिने बताउँछिन् । तत्कालीन द्वन्द्वमा भेरी नगरपालिका–१ रावतगाउँ, कालेगाउँ, पिपे, मैदे र रिम्ना गाउँका २४ जनाले ज्यान गुमाएका थिए भने ४ जना बेपत्ता छन् । बेपत्ताका आफन्त डेढ दशकदेखि मानसिक यातना खेप्दै छन् । अब चुनाव जित्नेले कम्तीमा बेपत्तालाई मृत घोषित गरेर परिवारलाई राहत दिनुपर्ने धनीको माग छ ।

बेपत्ता फर्कने आशा, छोराछोरीको लालनपालन, शिक्षा तथा रोजगारी, सामाजिक अवहेलना, सुरक्षा, अंश तथा राहत तानातानलगायत क्रियाकलापका कारण पीडितले मानसिक यातना खेप्नुपरेको माओवादी केन्द्रबाट भेरी नगरपालिका प्रमुखका उम्मेदवार ढकवीर रानाले बताए । द्वन्द्वमा जिल्लाभरमा ३८४ को ज्यान गएको थियो । ११ बेपत्ता छन् ।