उम्मेदवारसँग ढिमेवासीकाे प्रश्न- ‘खोइ औषधि ?
जाजरकोट,स्थानीय चुनावका लागि भोट माग्दै नेता–कार्यकर्ताको लर्को घरघर पुगिरहेछ । स्थानीय मतदातालाई आफूतिर तान्न उनीहरू गाउँ विकासदेखि अनेकौं आकर्षक योजना पस्किरहेछन् । कुशे गाउँपालिका–५, ढिमेका हरिबहादुर नेपालीलाई भने दलका एजेन्डामाथि पटक्कै विश्वास छैन । तैपनि नेता–कार्यकर्तासामु गाउँलेका साझा माग राखिरहेका छन्, ‘हामीकहाँ डाक्टर र औषधि पठाऊ, स्वास्थ्यसेवा चुस्त बनाऊ ।’
उनी उम्मेदवारका योजनाप्रति आश्वस्त हुन नसक्नुमा थुप्रै कारण छन् । तीमध्ये एउटा हो, औषधि नपाएकै कारण झाडापखालाले ग्रस्त पत्नी र छोराछोरीलाई आँखैअगाडि गुमाउनु । यसअघिका कैया ैँ निर्वाचनमा उनले नेताहरूबाट गाउँमै सुलभ स्वास्थ्यसेवा उपलब्ध हुने आश्वासन पाए । उनले भोट हालेका व्यक्तिले जिते पनि । तर, स्वास्थ्यसेवा त परै, जितेका नेता फर्केरै आएनन् । यसपालिको चुनावमा त्यस्तै आश्वासन दोहोरिइरहँदा उनको दिमागमा विगतको पीडा फेरि ताजा
बनेर आइदिन्छ ।
त्यो दिन उनी कहिल्यै बिर्सन सक्दैनन् । रोपाइँको चटारो थियो । दिनभरिको मिहिनेतले लखतरान परेको नेपाली परिवार साँझ घरतिर उक्लँदै थियो । ४५ वर्षीया पत्नी गौरी र ९ वर्षीया छोरी कालीलाई दिउँसैदेखि अलि बिसञ्चो थियो । सकीनसकी उकालो चढदाचढदै उनीहरूलाई झाडापखालाले च्याप्यो । हरिले आमाछोरीलाई पालैपालो बोकेर घरसम्म पुर्याउने प्रयास गरे । तर, सकेनन् । दुवै जनाको बाटैमा ज्यान गयो ।
शुद्धयाइँको तेस्रो दिन १४ वर्षीय छोरा धनेलाई पनि उही व्यथाले छोयो । अत्तालिएका हरिबहादुरले छोरालाई बोकेर स्वास्थ्यचौकी पुर्याए तर त्यहाँ न स्वास्थ्यकर्मी भेटिए न त औषधि । उनी रुँदै–कराउँदै नजिकैको गाउँ दम्दला पुगे । त्यहाँ मेडिकल खोज्दाखोज्दै अँगालैमा छोराको ज्यान गयो । २०६६ चैतदेखि असारसम्म जिल्लाका विकट गाउँमा झाडापखाला महामारीकै रूपमा फैलियो । हरिबहादुरजस्ता थुप्रैले आफन्त गुमाए ।
अहिले गाउँमा अनेकथरी काम गरिदिन्छौं भनिरहेका उम्मेदवारसँग उनको एउटै माग छ–गाउँमा डाक्टर र औषधि देऊ, हामीलाई अकालमा मर्नबाट बचाऊ । ‘भोट माग्ने नेताहरूलाई यसै भन्ने गरेको छु, जीवनजल खोज्दाखोज्दै मर्नुपर्ने अवस्था हटाउन आग्रह गरेको छु,’ ५२ वर्षीय हरिबहादुरले भने, ‘झाडापखाला लाग्दा पनि औषधि पाइँदैन, स्वास्थ्यचौकीमा कोही भेटिँदैनन् । यस्तो अवस्थामा कसरी बाँचिन्छ रु’
जिल्लामा पटक–पटक स्वास्थ्य समस्या बल्झिने गर्छ । कहिले झाडापखाला त कहिले स्वाइनफ्लु । महामारीले सयौंको ज्यान लिइसके पनि अहिलेसम्म स्वास्थ्यसेवा भरपर्दो छैन । मतदाताले स्थानीय चुनावमा स्वास्थ्य समस्यालाई नै मुख्य माग बनाएका छन् । २०६६ मा झाडापखालाले ३५८ को ज्यान गयो भने २०७२ मा स्वाइनफ्लुले २७ को मृत्यु भयो । नेताहरू स्थानीयको स्वास्थ्य समस्याप्रति गम्भीर नरहेको ढिमेका ४५ वर्षीय वीरबहादुर चन्दले बताए । ‘स्वास्थ्यकर्मी र औषधि पाउन सकिँदैन । यही कारण बर्सेनि अकालमा ज्यान गुमाइरहेका छन्,’ उनले भने, ‘अब चुनाव जित्नेले गाउँमा औषधि र डाक्टर राख्ने व्यवस्था गर्नुपर्छ ।’
खान–लाउनै मुस्किल पारिवारिक अवस्थामा स्वास्थ्यसेवाका लागि राजधानी वा टाढाका सहर धाउनु असम्भव ठान्छिन्, ७० वर्षीया सेतु कामी । ‘बिरामी भए भगवान् भरोसा हो । गाउँमा डाक्टर छैनन्, टाढा जाँदाजाँदै बाटोमै मरिन्छ,’ उनले भनिन्, ‘खलंगासम्म पुग्न पनि खर्च नै पुग्दैन ।’ गाउँमै औषधि र डाक्टर ल्याइदिने नेतालाई भोट हाल्ने उनले बताइन् । गाउँले बिरामी हुँदा जोगाइदिन सक्ने नेता चाहिएको पूर्ववडाध्यक्ष गणेशबहादुर मल्लले बताए । ‘झाडापखाला र स्वाइनफ्लुको महामारीले सताउनु सतायो । गर्मीयाम आयो कि डर लाग्छ,’ उनले भने, ‘गाउँको स्वास्थ्यचौकीमा जाँच्ने मान्छे पाइँदैन, मान्छे भेटिए पनि औषधि पाइँदैन ।’
ढिमेस्थित स्वास्थ्यचौकीमा कार्यरत अनमी निर्मलाकुमारी थापा अहिले पनि सिटामोल अभाव रहेको बताउँछिन् । ‘भर्खरै एक बिरामी आए, एउटा पत्ता थियो, सकियो,’ ६ जना कार्यरत स्वास्थ्यचौकीमा एक्लै ड्युटी धानिरहेकी उनले भनिन्, ‘जिल्लाबाट भनेका बेला औषधि आउँदैन, महामारी फैलियो भने त बचाउनै गाह्रो हुन्छ ।’ उक्त स्वास्थ्यचौकीमा २ अहेव, १ स्वास्थ्य सहायक र तीन अनमी कार्यरत छन् । सबैजना एकैचोटि कहिल्यै कार्यालयमा भेटिँदैनन् ।