चीनको ‘वान वेल्ट वान रोडमा’ हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडौं ,सरकारले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपाल यही हप्ता सदस्य बन्ने भएको हाे  ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनसँग वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागितासंबन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय लिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओबीओआर अवधारणामा एक दुई दिनमा काठमाडौंमा परराष्ट्रमन्त्रीको उपस्थितिमा परराष्ट्र सचिव र चिनियाा राजदूतले हस्ताक्षर गर्नेछन् ।

साथै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा तीन सदस्यीय टोली चीन पठाउने निर्णय भएको छ । ‘बैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको छ’, सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले भने ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए । र, चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको थियो ।

नेपालले ‘वान बेल्ट वान रोड’को प्रारम्भीक समझदारी पत्रमा ०१४ मा नै हस्ताक्षर गरेको पनि थियो । तर, यसमा दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर गरेको छैन । त्यही कारण नेपालले पनि आनाकानी गरेको आशंका गर्ने गरिएको थियो ।

तर, अब यो तोडिएको छ । ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेपछि चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ । । राष्ट्रपति भण्डारी २९ गते श्रीलंका जाने कार्यक्रम छ ।