प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडाैँ,प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्ले आज, १७ वैशाख अपराह्न कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावमा कांग्रेसका १८९ र माओवादी केन्द्रका ६० जना गरी कुल २४९ सांसद्ले हस्ताक्षर गरेको माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।

२९ जेठमा अनिवार्य सेवानिवृत्त हुँदै गरेकी प्रधानन्यायाधीश महाअभियोग दर्तासँगै निलम्बनमा परेकी छिन् । महाअभियोगमा कार्कीमाथि कार्यकारी अधिकारमा हस्तक्षेप गरेको, न्यायालयमा गुटबन्दी र न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको, न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको तथा खराब आचरण प्रस्तुत गरेकोलगायतका आरोप लगाइएको छ । 

के-के छन् अभियोग ?

महाअभियोगका प्रस्तावक मीन विश्वकर्माका अनुसार कार्कीमाथिको पहिलो अभियोग कार्यकारी अधिकारीमाथि हस्तक्षेप गरेको लगाइएको छ । डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गरेपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै सर्वोच्चको फैसलाले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको थियो ।

यो फैसला आएसँगै कार्कीमाथि महाअभियोग लगाउनेबारे कांग्रेसमा बहस भएको खबरहरु आएको थियो ।

कार्कीमाथि लागेको अर्को आरोप हो, कार्यसम्पादन क्षमताको अभाव । यस्तै व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गरेको, न्यायाधीशहरुमाथि फरक-फरक व्यवहार गरेको र न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग पनि प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको छ ।