काठमाडौंलार्इ दक्षिण एशियाकै उत्कृष्ट शहर बनाउँछु भन्दै –

बैशाख ,नेपाली राजनीतिमा कलाकारहरुको आकर्षण दैनिक बढिरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै प्रमुख पार्टीसहित साना दलहरुमा कलाकार भित्रिनेक्रम बढेको छ भने कलाकारहरुले पनि आसन्न निर्वाचनका लागि धमाधम आफनो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन ।

यसैक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि काठमाडौं महानगरपालिकाका लागि मेयरमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन । कुनै दल विशेष नभइ आफू स्वतन्त्र रुपमा मेयरको उम्मेदवार हुने उनले बताए । आफनो सबै राजनीतिक दल र यहाँका जनतासंग घनिष्ट सम्बन्ध रहेकाले आफूलाइ जिताउन उनीहरुको सहयोग रहने उनले बताए ।

श्रेष्ठले आफू व्यवसायिक रुपमा कलाकार भएपनि मुलुक र जनताको भलाइका लागि लामो समयदेखि समाजसेवामा रहेको बताउँदै अब प्रत्यक्षरुपमा मुलुकको समृद्धिमा योगदान दिन प्रतिबद्ध भएर लाग्ने धारणा राखे । उनले काठमाडौंलाइ दक्षिण एशियाकै उत्कृष्ठ र सभ्य शहरका रुपमा स्थापित गर्न बैज्ञानिक शहर व्यवस्थापन, शहरको सौन्दर्य र हरियाली, प्रदुषण नियन्त्रण, शिक्षा, स्वास्थ्य र मनोरञ्जनमा उच्च सहुलियतसहितको सेवा प्रदान गर्न आफूसंग ठोस योजना रहेको दावी गरे ।

कलाकार श्रेष्ठले दक्षिण एशियाका मात्र नभइ विश्वका प्रमुख महानगरसंग समन्वय गरी यहाँको विकास, सेवा सुविधा र आकर्षण बढाउन आफूले पहल गर्ने समेत बताए ।