‘आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना

काठमाडौं,  निर्वाचन आयोगले दलहरुलाई चुनावी आचारसंहिताविपरीतको कार्य नर्गन फेरि आग्रह गरेको छ । पछिल्लो केही दिनयता चुनावी आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट सम्पन्न गर्न सबै तप्काको जिम्मेवारीपूर्ण भूमिका आवश्यक हुने भन्दै आयोगले आचारसंहिताको कडाइकासाथ पालना गर्न दलहरुको फेरि ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षामार्फत् निर्वाचन आचारसंहिताकोबारेमासमेत जानकारी प्रदान गरेको छ । दल र तीनका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खन्डमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कानुनी कारबाही हुने आयोगले जनाएको छ ।

आचारसंहिता उल्लंघनको घटनामा एक लाखसम्मको जरिवानादेखि उम्मेदवारी रद्दसम्म गर्ने अधिकार भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । स्थानीय चुनावको सरगर्मी बढेसँगै दलहरुको चुनावी कार्यक्रमले तीव्रता पाएको छ भने उत्तिकै मात्रमा निर्वाचन आचारसंहितको उल्लंघनका घटनामा पनि बढोत्तरी भएको आयोगको भनाइ छ ।