गणतन्त्रकी राष्ट्रपति राजाकै शैलीमा सवार,

काठमाडाैं ,  राष्ट्रपति विद्यादेवी भण्डारी अाज राजकिय भ्रमणमा भारत उडेकी छन ।  राष्ट्रपति  भण्डारी दिउसाे ११ बजेवायुसेवा निगमको नियमित उडानबाट  भारत प्रस्थान गरेकी हुन् । भारतीय समकक्षी प्रणव मुखर्जीको नियन्त्रणमा ५ दिने राजकीय भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।

अाजबाट शुरु हुने ५ दिने भारत भ्रमणको लागि सरकारले २ दिन सार्वजनिक बिदा दिएकाे छ । राष्ट्रपति भारत भ्रमण जाने दिन ४ गते र फर्कने दिन ८ गते सरकारले बिदाको घोषणा गरेको छ ।

राष्ट्रपति विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति रामवरण यादवका पालादेखि तोडिएको थियो। सन् २०१० मा यादवको भारत भ्रमणका बेला बिदा गर्ने कुरालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको थिएन ।

आइतवार गृह मन्त्रालयले एक बिज्ञप्ति निकाल्दै राष्ट्रपतिको भारत भ्रमणका कारण दुई दिन सार्वजनिक बिदाको सूचना दिएसँगै सामाजिक संजालहरुमा ब्यापक बिरोध शुरू भएको छ । मानिसहरुले शाही शैलीमै राष्ट्रपतिको सवारी निकाल्न लागेको भन्दै आलोचना गरेका छन । राष्ट्रपति नया राजा बनेको आरोप लगाउदै मानिसहरुले यसलाई लोकतन्त्रको उपहास भनेका छन् ।

लोकतन्त्रअघि नेपालका राष्ट्रप्रमुख राजा हुँदा राजाको हरेक विदेश भ्रमण शुरु हुने दिन र स्वदेश फिर्ता हुने दिन राष्ट्रिय विदा दिने चलन थियो।

राष्ट्रपति विद्यादेवी नयाँदिल्लीमा, राज्यमन्त्रीले गरिन् स्वागत

 भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राज्यमन्त्रीले स्वागत गरेकी छन् । नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी हुन् ।


भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।
तर, भारत सरकारले भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई स्वागतका लागि विमानस्थल पठाएको छ । त्यसअघि विमानस्थलमा ओर्लिएलगत्तै भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले स्वागत गरेका थिए । इन्दिरागान्धी विमानस्थलबाट राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरेकी छन् ।

समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार नयाँदिल्ली गएकी हुन् । भारत बसाइको क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् । राष्ट्रपति भारत जाने दिन सार्बजनिक विदा दिएको सरकारले उनी फर्किने दिन शुक्रबारको विदा भने फिर्ता लिएको छ ।