चन्द्रनिगाहपुरमा ‘विप्लव’ को जनसत्ता घोषणा,

पाल्देन लो बने मेयर

स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा निर्वाचन खारेज गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता घोषणा गरेको छ।

रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले जनसत्ता घोषणा गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले पाल्देन लोलाई चन्द्रनिगाहपुरको मेयर चयन गर्‍यो।

त्यस्तै बिना ठोकरलाई उपमेयर चयन गर्‍यो। यस जनसत्तामा ३३ सदस्य रहेको जानकारी नेकपाका रौतहट इन्चार्ज विजयलालले दिएका छन्। पार्टीको समानान्तर जनसत्ता निर्माण गर्ने घोषित नीति अनुरुप चन्द्रनिगाहपुरमा कार्यक्रम गरिएको उनले बताए। उनले ग्रामिण स्तरका स्रोत साधनमा जनसत्ताले निगरानी गर्ने तथा कर समेत उठाउने दाबी गरे। नेपाल कम्युनिष्ट पार्टीले नयाँ वर्षका अवसरमा वैशाख १ गते बारा र २ गते पर्सामा यसरी नै जनसत्ता घोषणा गर्ने उनले बताए ।