अब साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुगिने

टोखादेखि थानसिंह फाँटसम्म सुरुङमार्ग

उपत्यकालाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने तयारी  भइरहेको छ।  सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार काठमाडौँं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भइरहेको छ।
सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य पूरा भइसकेको जानकारी महाशाखा प्रमुख श्रेष्ठले दिए। उनका अनुसार अध्ययनले सो सुरुङमार्गको निर्माण सम्भव रहेको देखाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित त्यस सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो। सडक विभागले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसकेको जानकारी उनले दिए। अध्ययन अनुसार शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सो सुरुङमार्गको निर्माण गरिनेकछ। टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म जम्मा चार किलोमिटर रहेको सो सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी)लाई प्रस्ताव पेस गरिसकेको छ। प्रस्ताव अनुसार कुल रकम २७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ।

सरकारले आफ्नै लगानीमा सो सुरुङमार्गको निर्माण गर्ने हो कि भन्ने विषयमा समेत अहिले मन्त्रालयस्तरीय छलफल भइरहेको जानकारीसमेत वैदेशिक महाशाखा प्रमुख श्रेष्ठले दिए। यो खबर हामीले आजको गोखापत्रबाट लिएका हौ। 
सो सुरुङमार्गको निर्माणपछि साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुग्न सकिनेछ। उनका अनुसार यो सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादेले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कले सो सुरुङमार्ग निर्माणका लागि ऋण सहयोग गर्न तयार भएमा छिट्टै नै निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिए। सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२२) अन्तर्गत मुलुकका विभिन्न भागमा सडक निर्माण गरिरहेको छ। बीसवर्षे यो दीर्घकालीन सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ