काठमाडौंमा अब हर्न बजाउन नपाइने ! नटेर्नेलार्इ ५ हजार जरिवाना

काठमाडौं , नयाँ वर्ष २०७४ देखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनले हर्न बजाउन पाउने छैनन् । काठमाडौं महानगरपालिकाका प्रमुख, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको आइतबार दिउँसो काठमाडौंमा बसेको बैठकले काठमाडौंको ध्वनि प्रदुषण कम गर्न हर्न बजाउन नपाउने निर्णय गरेको हो ।

अब उक्त निर्णय सकेसम्म छिटो कार्यान्वयनमा ल्याइने महानगरपालिका कार्यकारी प्रमुख इश्वरीराज पाैडेलले जानकारी दिए । “हामीले काठमाडौं भित्र साउण्ड पोलुसनलाई निरुत्साहित गर्नका लागि यो निर्णय गरेका हौं,” पाैडेलले  भने ।
उनले सकेसम्म चाँडै नै यो कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

 

गाडीले चर्को हर्न बजाउँदा सर्वसाधारणलाई असर पर्न गएको भन्दै यस्तो निर्णय गरिएको उनले जानकारी दिए । जथाभावी हर्न बजाउँदै हिँड्ने, हर्नको सदुपयोगभन्दा पनि दुरुपयोग भएकाले हामीले ध्वनि प्रदुषण नियन्त्रणका लागि यस्तो नियम ल्यएका हौं, ध्वनि प्रदुषण नियन्त्रणका लागि महानगरपालिका कार्यालयमा व्यापक जनगुनासो आएपछि संयुक्त बैठक बसेर यस्तो निर्णय गरिएको हो ।”

२ अवस्थामा हर्न बजाउन छुट

सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।