भारतको मनोमानीले महंगियो नेपाल आउने विजुली

भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ । नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो ।

पावर एक्सचेन्ज कमिटीको पछिल्लो बैठक सन् २०११ मा बसेको थियो । त्यसयता भारतीय बेवास्ताकै कारण अहिलेसम्म बसेको छैन ।पावर एक्सचेन्ज कमिटीले मूल्य पुनरावलोकन नगर्दा विजुली खरिद-बिक्री दर लगातार बढिरहेको छ ।

२०११ को बैठकमा हरेक वर्ष बैठक बस्ने गरी वाषिर्क ५.५ प्रतिशतका दरमा विजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर, त्यसपछि सो समितिको बैठक बसेन र नेपाललले वाषिर्क रुपमा विजुलीको मूल्य बढ्दै गर्दा पनि तिर्न बाध्य भइरह्यो । यो वर्ष पनि सोही नियति दोहोरिएको छ ।

युनिटकै ११ रुपैयाँ नाघ्यो

अब ११ केभीको ट्रान्समिसनबाट आउने भारतीय विजुल महंगिएर प्रतियुनिट ६.९ भारु पुगेको छ । त्यसैगरी ३३ केभी ट्रान्समिसनबाट आउने एक युनिट विजुली अब महंगिएर ६.४२ भारु पर्ने भएको छ । १३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५.९२ भारु तिर्नुपर्ने भएको छ । अब ५० मेगावाट बढी भारतीय विजुली ल्याउँदा प्रतियुनिट ५.८५ भारु तिर्नुपर्नेछ ।

हिजोसम्म ११ केभी प्रसारणलाइनबाट प्रतियुनिट ६ रुपैयाँ ५४ पैसा भारु, ३३ केभीमार्फत आउने ६.०८ भारु र १३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५.६२ भारु र ५० मेगावाट बढी ल्याउँदा ५.५५ भारु तिरिरहेको थियो । अब यसमा ५.५ प्रतिशत मूल्य स्वतः बढेको छ ।

११ केभी प्रशारणलाइनबाट भारतबाट आउने बिजुली अब ११.०३ नेपाली रुपैयाँसम्म पर्ने भएको छ । सस्तोको बिजुली पनि न्युनतम् ९ रुपैयाँ ३६ पैसासम्म पर्ने भएको छ । यसमा पावर ट्रेड अन्तर्गतको विजुलीको दर समावेश छैन । यो विजुली भने तुलानात्मक रुपमा सस्तो छ ।

भारतको मनोमानी, नेपाललाई मार

पावर एक्स्चेञ्ज कमिटीमार्फत नेपाल आउने सामान्य विद्युत् बजारको मूल्यभन्दा दोब्बर जत्तिकै भइसकेको छ । तर, पनि भारतले यो बैठक बस्न चासो देखाएका छैन ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी यो बैठक बस्न अति जरुरी भएकाले आफ्नोतर्फबाट भारतीय पक्षलाई स्पष्ट रुपमा बैठक राख्न आग्रह गरिएको बताए । केही समयभित्रै बैठक बसेर भारतबाट आउने विजुलीको मूल्य पुनरावलोकन हुने दावी पनि गरे ।

नेपालल यो बैठक बसाल्न पटक-पटक पहल गरेपनि भारतीय पक्षले चासो नै दिएको छैन । शनिाबारबाट ११ केभीसम्मका ४ वटा, ५३ केभीसम्म प्रसारणलाइनका ६ वटासहित गण्डक र सुरजपुरा नाकाबाट आउने विजुली महंगो भएको छ ।

झण्डै २ सय मेगावाट विजुलीको मूल्य थप मंहगिएको छ । टनकपुर र ढल्केबर प्रसारणलाइनबाट भने पावर ट्रेडअन्तरगतको विजुली भएकाले त्यो महंगिएको छैन । दुई प्रसारणलाइनबाट १६५ मेगावाट विजुली आइरहेको छ ।

सन् २०११ अघि प्रत्येक वर्ष ८ प्रतिशतले भारतीय विजुली स्वतः वृद्धि हुन्थ्यो । त्यसबेला ५.५ प्रतिशतमा झारिएपनि अहिले त्यो वृद्धिदर पुनरावलोकन गर्नैपर्ने अवस्था छ । बैठक नबस्दा छैंटौं पटक नेपाल आउने विजुली स्वतः महंगिएको हो ।