ओेली भन्छन- ‘संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिए त्यो एमालेलाई अमान्य

काठमाडौं, मधेसी मोर्चासँग सीमांकनलाई थाती राखेर चुनावमा जानेगरी सहमति हुन लागेको भनिएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा अभिव्यक्ति आएको छ । ओलीले निर्वाचनलाई भाँड्न संशोधनबारे फेरि अर्को ‘र्याङर्याङ’ सुरु भएको भन्दै संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिए त्यो एमालेलाई अमान्य हुने बताएका छन् ।

शनिबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘निर्वाचनलाई भाड्न फेरि अर्को र्याङर्याङ सुरु भएको छ । संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिएको छ ।’

सिंहदरबारमा दिनभित्रै मधेसी मोर्चासँग वार्ता हुने गरेको भएपनि त्यो देश बनाउन नभई देश भाँड्नको लागि भएको आरोप लगाउँदै ओलीले भने, ‘ सिंहदरबारमा दिनदिनै मोर्चासँग वार्ता भइरहेको छ । त्यो वार्ता देश बनाउन होइन भाँड्न हो ।’ उनले ‘मधेसी मोर्चासँग नातिको पालालसम्म वार्ता गर्ने हो कि देश पनि विकास गर्ने हो ?’ भनि प्रश्न समेत गरे ।

विवादित विषयमा सहमति गरी संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोचाबीच हिजो बालुवाटारमा करीब सहमति भएको भनि समाचारहरु बाहिर आइरहेको बेला ओलीबाट यस्तो धारणा आएको हो ।

मधेसी मोर्चाको नयाँ बखेडा सुरु, बालुवाटार बैठकमा चर्काचर्की

ती पाँच विषयमा सीमाङ्कनका लागि आयोेग गठन, भाषा, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, निर्वाचकमण्डल र संविधानको धारा २७४ लाई परिमार्जनसहित राजनीतिक सहमतिका रुपमा स्थानीय तह जनसङ्ख्याको अनुपातमा थप्ने तथा ती सबै विषयबारे दुई÷तीन दिनभित्रै प्रधानमन्त्रीले आवश्यक छलफल गरी टुङ्गो लगाउने निष्कर्ष बैठकले निकालेको थियो ।

अरु पार्टीको कार्यालयमा साइनबोर्डमात्रै !

सो अवसरमा ओलीले देश एमालेमय भइसकेको दाबी गर्दै अरु पार्टीको कार्यालयमा अर्थहीन साइनबोर्ड झुड्याएको जिकिर गरे । उनले एमालेले देश बनाउने भन्दै पार्टीका एकताबद्ध हुन समेत आह्वान गर्न भ्याए । उनले आफ्नै लवजमा टुक्का गाउँदै भने, ‘ फर्क फर्क नेपाली दाजुभाई एमालेमै फर्क ।’

‘अहिलेका कयौं राजनीतिक दलहरु केटाकेटीले काडाकुँटी खेलेजस्तो गरिरहेका छन् । केटाकेटीले खेल्दा चामल हुँदैन तर पनि भात पकाएको नक्कल गर्छन् । ती पार्टीहरुमा पनि त्यस्तैछ । साइनबोर्ड झण्ड्याएका छन्, कार्यकर्ता छैनन्’, विपक्षीप्रति कटाक्ष गर्दै ओलीले भने ।

सो अवसरमा राप्रपाका सिन्धुपाल्चोकका नेता धर्मराज भण्डारीको नेतृत्वमा सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।