सरकारद्वारा घोडेजात्रा ‘बहिष्कार’

उपस्थित भएनन् तीनैजना उपप्रधानमन्त्री

काठमाडौं ,प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिएको असर घोडेजात्रामा देखिएको छ । नेपाली सेनाले सोमबार घोडजात्राको अवसरमा टुडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सरकारमा रहेका तीनै जना उपप्रधानमन्त्रीहरु गएनन् ।

नेपाली सेनाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका नाममा निमन्त्रणा गरेको भएपनि कार्यवाहक प्रधानमन्त्री कोही नतोकिएकाले त्यहाँ नगएको स्रोतले दावी गरेको छ । वरीयता विवादका कारणले कार्यवाहक नतोकी प्रधानमन्त्री दाहाल चीन गएको प्रभाव घोडेजात्रामा देखिएको सैनिक अधिकारीहरुले पनि स्वीकार गरेका छन् । 

‘सैनिक मञ्च टुँडिखेलमा भएको घोडेजात्राको औपचारिक कार्यक्रममा तीनैजना उपप्रधानमन्त्रीहरु आउनु भएन, हामीले उहाँहरुलाई पनि निमन्त्रणा गरेका थियौं,’ सैनिक स्रोतले भन्यो ‘काम परेर हुनसक्छ उहाँहरु कोही पनि आउनु भएन । आजको राजधानी दैनिकमा समाचार छ ।

टुडिखेलमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री वा कार्यवाहक प्रधानमन्त्रीका लागि पहिलो लहरमा विशिष्ट अतिथिसँगै कुर्सी राखिएको थियो, जुन कुर्सी खाली नै भयो । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि को वरिष्ठ भन्ने विवादले प्रधानमन्त्रीको कुर्सी खाली रहन गएको हो ।

घोडेजात्राको औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतका सैनिक अधिकारीहरुले स्वागत गरेका थिए । सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडको भने उपस्थिति थियो । हरेक वर्ष चैत्र कुष्ण चतुर्दशीमा मनाइने घोडेजात्रामा नेपाली सेनाले घोडादौड, अश्वकलालगायत प्रदर्शन गर्नेगर्छ ।