यस्ताे छ श्रेष्ठपक्षको आरोप – सरकारले कानुन मिचेर राणापक्षलाई ओलम्पिक कार्यालय प्रवेश गरायाे

काठमाडौं, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले विभेदकारी व्यवहार प्रस्तुत् गर्दै रुक्मशमशेर राणाको समूहलाई ओलम्पिक भवन प्रवेश गराएको आरोप लगाएका छन् । सुरक्षाकर्मीको सहयोगमा मंगलबार रुक्मशमशेर राणापक्ष सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेको थियो । गत माघ ११ गतेदेखि ओलम्पिक कमिटीमा लागेको ताला खोल्दै राणापक्ष कार्यालय प्रवेश गरेको हो ।

राणापक्ष कार्यालय प्रवेश गरेपछि श्रेष्ठपक्षले बुधबार राजधानीमा पत्रकार सम्मलेन गरी सरकारको बलमा कार्यालय नियन्त्रणमा लिइएको आरोप लगाएको हो । श्रेष्ठले आफ्नो नेतृत्वको ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा ओलम्पिक काउन्सिल अफ एसियाले मान्यता प्रदान गरेको भन्दै यो नै नेपालको एकमात्र आधिकारिक ओलम्पिक कमिटी भएको दाबी गरे ।

पछिल्लो घटनाक्रमलाई लिएर अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियासँग छलफल भइरहेको भन्दै श्रेष्ठले आफूहरु चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

सर्वोच्च अदालतले ६ वर्षअगाडि गरेको फैसला कार्यान्वयन गराउन भन्दै करिब २ महिनाअघि पत्राचार गरेपछि गत माघ ११ गतेदेखि जिल्ला प्रशासन कार्यलय ललितपुरले ओलम्पिक भवनमा तालाबन्दी गरेको थियो । बुधबार रुक्मशमशेरपक्षका कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेृत्वमा गएको टोलीले प्रहरीको सहयोगमा ताला खोलेर कार्यालय प्रवेश गरेको थियो ।