बेलायती संसद नजिक आतंककारी हमला, चारको मृत्यु

एजेन्सी, बेलायती संसद भवनबाहिर आतंककारी हमला हुँदा चार जनाको मृत्यु र एक दर्जभन्दा बढि घाइते भएको लण्डन प्रहरीले पुष्टि गरेको छ।  बेलायतको प्रसिद्ध समाचार संस्था विविसीका अनुसार घटनामा केही सुरक्षाकर्मी पनि घाइते भएका छन्। लण्डनको एक अस्पतालकी जुनियर डक्टर कोलिन एन्डरसनले बीबीसीसँगको कुराकानीमा झन्डै ३० वर्षका १ प्रहरी अधिकारीलाई टाउकोमा चोट लागेको बताएकी छिन्।

आक्रमणकारीले सडकमा अन्धाधुन्ध रुपमा कार चलाएर हिँड्दा र आक्रमण गर्दा सर्वसाधारण र सवारी साधनमा रहेका केही दर्जनभन्दा बढि व्यक्तिहरुलाई घाइते गराएको बताइएको छ। आक्रमणकारीले प्रहरीमाथि पनि अन्दाधुन्द धारिलो हतियार प्रहार गर्न थालेको र सो क्रममा सशस्त्र प्रहरीले प्रतिकार गर्दा एक हमलाकारी मारिएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्।

प्रत्यक्षदर्शीले प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको बताएका छन्। हाउस अफ कमन्सका नेता डेविड लिडिङ्टनका अनुसार आक्रमणकारीले पुलिस अफिसरमाथि चक्कु प्रहार गरेका थिए। उनले हमला गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएको जानकारी दिए।

सांसदहरुले तीन वा चार राउण्ड गोली प्रहार भएको आफूहरुले सुनेको बताएका छन्। गोलीको आवाजसँगै सडकमा चिच्याहट र कोलाहालको वातावरण सिर्जना भएको भन्दै समाचारहरुमा प्रत्यक्षदर्शीलाई उधृत गरिएको छ। घटनापछि प्यालेस अफ वेस्टमिनिस्टर आवागमन निषेध गरिएको छ र घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।