आयोगले भन्यो प्रधानमन्त्रीको चीन भ्रमण स्थगित गर

काठमाडौं, निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्देशन दिएको छ । आयोगको बुधबार दिउँसो बसेको बैठकले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा कुनैपनि देशको भ्रमणमा नजान निर्देशन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको बोआओ सम्मेलनमा सहभागी हुन बिहीबार (भोलि) राति चीन जाने तयारी गरिरहेकोबेला निर्वाचन आयोगले भ्रमण स्थगित गर्न भनेको हो । आयोगले विदेश भ्रमणमात्रै नभइ निर्वाचन सम्पन्न नभएसम्मका लागि कुनैपनि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमणको प्रयोजनका लागि हुने विदेश भ्रमणका कार्यक्रम स्थगित गर्न पनि निर्देशन दिएको छ ।

गत फागनु २८ गते सरकारका मुख्यसचिव सोमलाल सुवेदीसमेत सहभागी आयोगको बैठकले विदेश भ्रमणलगायतका कार्यक्रम गर्न नपाउने निर्णय गरेको थियो ।

आगामी वैशाख पहिलो साता स्थानीय तहहरुमा निर्वाचन कार्यालय खुल्ने भएकाले आवश्यक बन्दोबस्ती मिलाउन स्थानीय विकास मन्त्रालयलाई निर्देशन पनि दिइएको छ भने स्थानीयस्तरमा संकलित हतियारहरुको विवरण चैत ११ गतेभित्र आयोगमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।