त्यसपछि

 

जब ज्यानले
हनहनी अागो अोकल्छ अामै
त्यसघडी

मेरा दुवै हात असमर्थ हुन्छन्, छुट्याउन
ज्वरो मलाई अाएको होकि ?
म ज्वरोलाई अाएको हो

नछुट्याइ लम्पसार हुन्छन् दुवैहात पालोपालो
र तमासले थर्थराउँछन् अोठहरू
मानौं म अाफै झाँक्री भएकोछु
हो त्यहि बेला
अझ बढ्ता गला अचेट्छ,तिम्रो अभावले

हरहरी जलेको अाँत शान्त पार्न
छेउमा उभिएको गिलास पानी
उठाउने ताकत रित्तिन्छ, पाखुरीमा
चुपचाप नियालिरहन्छ नजिकैबाट गिलास

म अाफै छैन जस्तो लाग्छ,यताकतै
नजानिंदो ढंगले अाफैलाई चिमोट्न खोज्छु
फेरि पनि चुपचाप सुतिदिन्छन्, हातहरू
म भित्र उर्लिरहेको अाँधी ज्ञात नहुँदो होत
म छु जस्तै लाग्न छाडेको हुन्थ्यो होला

त्यसपछि……
तिम्रो चर्को खाँचो पर्छ
म र ज्वरो छुट्याउन

त्यहिरात
मसंगै कुम जोडेर सुतेको मोबाइल
एकतमासले बजिरह्यो, मलाई उठाउन
बजिराखेर हैरान उ जब बज्न छाड्यो

लखतरान अौंलाहरूले मुस्किलले मोवाइल खोले
उनका अनगिन्ती गुनासा
चिन्ता र प्रेमाभाव छताछुल्ल पोखिए वालभरी

त्यो भन्दा बढी
उमेर छउन्जेल एकै सिरानी नहुने भो है ?
उमेर छउन्जेल एकै सिरानी……
उनको यहि प्रश्नले थप शिथिल बनायो

अलि पर पुगायो मलाई यो प्रश्नले
एक दिन

जतनले सिरानमा लुकाएक‍ो बन्दुकले
फूल जस्ती छोरीलाई बिझायो
त्यहिपल उनले सोधिन्
बाबा !
बन्दुक नबोके हुन्न ?

मलाई दुःखायो भन्या
अनुत्तरित म
छोरीलाई दुखाउने बन्दुक….त्यागिदिएँ,त्यसपछि

अलि बर्ष पछि
एक मजदुर थपियो नयाँ प्रश्नसहित
उसले पनि हरबार एक प्रश्न दोहोर्याईरहन्छ
बाबा !
कहिले अाइसिन्छ ?
भनिस्यो न कहिले अाइसिन्छ
मलाई हजुरसंग घुम्ने मन छ,,,,
पल्ला घरे पुन्टे जस्तै
अाफ्नै बाबाको काखमा नुनु गर्ने मन छ

साहेद,
उसले अाफू ठूलो हुँदैछु, भन्ने बुझेको छ

यिनै केही थान फुटकर प्रश्नावलीले
घुमाइराखे रात रातभर

झिसमिस भित्रयाए अोछ्यान भरी
एकतमास मैले
मेरो बाबालाई जोडजोडले सम्झिराखें
दर्दका अग्ला-अग्ला पहाडले किचिंदा
अाकाश तिर सुइएँ सुसेलेर
भरिएका परेला सुख्खा बनाउनुहुन्थ्यो बाबा !

मैले पनि विहानै
अाफै बलिरहेको ज्यान जवरजस्त उचालेर
हेलिदिएँ मेसिनसंगै कामका लागि
बाबा हुनुको जिम्मेवारीले….किचेपछि
प्रश्नहरू
यसपटक पनि अनुत्तरित छाडिदिएँ,
विसन्चो भएँ कि भएन भन्ने पत्तै नपाएर
त्यसपछि…………

सुर्खेत, हाल कोरिया