एक चीन नीतिविरुद्ध नजान भारतलाई चेतावनी

बेइजिङि– भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले भारतसँग चर्को असन्तुष्टि व्यक्त गरेको छ।

चीनको राजधानी बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुन्यिङले चीन र भारतबीचको दुई पक्ष्ीय सम्बन्ध नबिगार्ने भए चीनको मुख्य चासोविरुद्ध नजान र एक चीन नीति प्रति सजग रहन भारतलाई चेतावनी दिएकी छिन्।

‘चीनको चासोविरुद्ध गएर दलाई लामालाई बौद्ध सम्मेलनमा भारतले निम्त्याएको छ’, बेइजिङमा प्रवक्ता हुवाले पत्रकारहरुसँग भनिन्।

बौद्ध सम्मेलन भारतीय सरकारले आयोजना गरेको थियो। ‘भारत सरकारको निर्णयप्रति चीन असन्तुष्ट छ र यसको कडा प्रतिवाद गर्दछ।’ ‘हामी भारतलाई चीनको मुख्य चासोको सम्मान गर्न र दुई देशको सम्बन्ध बिगार्नेतर्फ कदम नचाल्न आग्रह गछौं’, उनले भनिन्।

गत शुक्रबार भारतको बिहार राज्यमा भएको अर्न्तराष्ट्रिय बौद्ध सम्मेलनको उद्धाटन तिब्बतका निर्वासित नेता दलाई लामाले गरेका थिए। उक्त सम्मेलनमा कयौं देशका बौद्ध भिक्षु र अध्येताहरुको सहभागिता रहेको बताइएको छ।

दलाई लामालाई गत महिना भारतले तिब्बतसँग नजिक रहेको भारतको अरुणाञ्चल प्रदेशको भ्रमण गर्न दिएको बिषयमा पनि चीनले असन्तुष्टि व्यक्त गरेको थियो। पछिल्ला केही समय यता चीन र भारतबीच दलाई लामालाई लिएर कूटनीतिक समस्या उत्पन्न भइरहेका छन्। पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवाले भारतलाई एक चीन नीतिप्रति सजग रहन चेतावनी दिएकी थिइन्।